काठमाडौँ- समलिंगी विवाह दर्ता गरेर दक्षिण एसियाकै पहिलो जोडी बनेका समलिंगी सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन्।
समावेशी समाजवादी पार्टीमा आबद्ध भएका सुरेन्द्रले आज (मंगलबार) काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका हुन्। उनले विवाह दर्ताको प्रमाणपत्र पेस गरी उम्मेदवार दर्ता शुल्कमा ५० प्रतिशत छुटसमेत पाएको बताएका छन्।
दुई वर्षअघि कावासोती नगरपालिका–८, नवलपरासी पूर्वका सुरेन्द्र र दोर्दी गाउँपालिका–२ लमजुङका रामबहादुर गुरुङ (माया)ले लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट कानुनी रूपमा विवाह गर्ने दक्षिण एसियाकै पहिलो जोडी बनेको थियो।
समलिंगी र लैंगिक अल्पसङ्ख्यकको पक्षमा निरन्तर अभियान चलाउँदै आएका सुरेन्द्रले रूपान्तरणको लागि राजनीतिमा होमिनुबाहेकको विकल्प नदेखेको बताए। ‘चुनौती भरिएको समाजमा उम्मेदवारी गर्दा गर्ने आँट गर्नु पनि आफैँमा जित हो। अब जनताको मन जित्नु छ, फरक काम गरेर देखाउनुछ।’
समावेशी समाजवादी पार्टीबाट देशभर समलिंगी र तेस्रो लिंगी गरी ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जसमा सुरेन्द्र, काठमाडौँ क्षेत्र १ देवेन्द्रबहादुर खत्री (मधु), रूपन्देही–२ मा, नुमा लिम्बू, मोरङ ४ मा, पिंकी राई ओखलढुंगा १ र विनोद लामा (कोनिका) काभ्रे १ बाट उम्मेदारी दिएका छन्।
यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा नेकपा (संयुक्त) ले समानुपातिकमा सुनीलबाबु पन्तलाई सांसद बनाएको थियो। यसपछि प्रतिनिधिसभा सदस्यको लागि संसद्मा पुग्ने समलिंगी समुदायका प्रतिनिधि शून्यजस्तै छन्।
सुरेन्द्रले संसद्मा पुगेर अब आफ्नो समुदायको लागि मात्रै नभई समग्रह समाज र जनताको हितको लागि काम गर्ने योजना रहेको बताए। संसद् समावेशी बनाउनुपर्ने उनको धारणा छ।
पार्टीका अध्यक्ष नुमा लिम्बूका अनुसार जहिले पनि राजनीतिक दलले समलिंगी, लैंगिक अल्पसङ्ख्यक समुदायलाई आश्वासन दिने र प्रयोग गर्ने मात्रै भएकाले अबको निर्वाचनमा आफैँले पार्टी खालेर निर्वाचनमा होमिले आँट गर्नुपरेको बताइन्। उनका अनुसार पार्टीको समानुपातिकमा महिला र पुरुषसमेत १५ जना परेका छन्। रासस



