कांग्रेसको नियमित महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव, देउवाको कार्यकाल जेठसम्म

हिमाल प्रेस १८ पुष २०८२ १७:५७
48
SHARES
कांग्रेसको नियमित महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव, देउवाको कार्यकाल जेठसम्म फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन वैशाखमा सम्पन्न गर्नेगरी नयाँ कार्यतालिका प्रस्ताव गरिएको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा १५ औँ नियमित महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा सम्पन्न गर्नेगरी नयाँ कार्यतालिका प्रस्ताव गरिएको हो।

यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। कार्यतालिकाअनुसार क्रियाशील सदस्यतालगायतका कामहरू अगाडि बढ्न नसकेपछि महाधिवेशनको नयाँ मिति तोक्ने गृहकार्यमा कांग्रेस जुटेको हो।

निर्धारित मितिमा महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका विशेष महाधिवेशन पक्षधरले पुसमा विशेष महाधिवेशन गर्न दबाब दिइरहेका छन्।

संस्थापननिकट नेताहरूले भने नियमित महाधिवेशनको मिति तोकिएसँगै विशेष महाधिवेशनको औचित्य सकिएको बताएका छन्।

प्रस्तावित कार्यतालिकाअनुसार आगामी चैत २१ गते गाउँ/नगर वडा अधिवेशन, चैत २५ गते गाउँ/नगरपालिका अधिवेशन र चैत २८ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने भनिएको छ।

त्यस्तै २०८३ वैशाख २ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, वैशाख ५ गते दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, वैशाख १०, ११ र १२ गते प्रदेश अधिवेशन र वैशाख २८ देखि ३१ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव छ।

त्यस्तै कार्यसम्पादन समिति बैठकमा पार्टीका सबै तह र पदाधिकारीहरूको पदावधि जेठ मसान्तसम्म थप्ने प्रस्ताव गरिएको छ।

विशेष परिस्थिति भन्दै कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४३ बमोजिम पार्टीको सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८२ जेठ महासन्तसम्म थप गर्ने प्रस्ताव गरिएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वउपसभापति विमलेन्द्र निधिले कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको औचित्य अन्त्य भइसकेको जानकारी गराएको बताए। उनले पुसका लागि तोकिएको महाधिवेशन रद्द गरेर संशोधित कार्यतालिकाको प्रस्ताव पेस भएको बताए।

पुस १५ को केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेकोले विशेष महाधिवेशनको औचित्य सकिएको बैठकको निर्णय रहेको निधिले जानकारी दिए।

प्रकाशित: १८ पुष २०८२ १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast