नवौँपल्ट चुनाव लड्दै पृथ्वीसुब्बा गुरुङ

विजय नेपाल ४ माघ २०८२ १७:५१
10
SHARES
नवौँपल्ट चुनाव लड्दै पृथ्वीसुब्बा गुरुङ

पोखरा- नेकपा (एमाले) उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ नवौँपल्ट संसदीय चुनावमा होमिएका छन्। यसअघिका ८ चुनावमा तीनमा जित र ५ मा हार व्यहोरेका उनलाई शनिबार एमाले केन्द्रीय सचिवालय बैठकले लमजुङबाटै उम्मेदवार बनाउने निर्णय गरेको हो।

गण्डकीमा प्रदेशका ११ जिल्लामध्ये प्रतिनिधिसभा सदस्यका लागि १८ क्षेत्रमा एमालेले सबैमा उम्मेदवार टुंगो लगाएको छ। १८ जनामध्ये दुई जना महिला उम्मेदवार छन्।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङले संसदीय चुनावमा पटकपटक अवसर पाएकाले २१ फागुनको चुनावमा उनको विकल्पमा अर्को उम्मेदवारलाई अवसर दिनुपर्ने दबाब पार्टीपंक्तिको तल्लोस्तरबाटै उठेको हो। जसमा एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घले वा एमाले गण्डकी सचिव धनञ्जय दवाडीमध्ये एकले टिकट पाउने चर्चाबीच अन्तत: गुरुङ दोहोरिए। यसअघि एमाले लमजुङले गुरुङ, घले, दवाडीसहित कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नामसमेत सिफारिस गरेको थियो।

गुरुङ निवर्तमान सञ्चारमन्त्रीसमेत हुन्। उनले हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित हुँदा पदाधिकारीमा लोकप्रिय मत पाएका थिए। उनी प्रखर र स्पष्ट वक्ताका रूपमा चिनिन्छिन्।

तत्कालीन सञ्चारमन्त्री छँदा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबाट निकै आलोचित उनलाई सामाजिक सञ्जालमै अहिले पटकपटक अवसर पाएको नेता भनी टिप्पणी बर्सिएको पाइन्छ। लमजुङ क्व्होलासोथार गाउँपालिका-९, गिलुङ टक्सारका उनी गण्डकी प्रदेशमा एमालेबाट ‘हेभिवेट’ उम्मेदवारका रूपमा चिनिन्छन्।

उनी २०४३ सालयताका हरेक संसदीय निर्वाचनमा निरन्तर उम्मेदवार छन्। ८ चुनावमा उनले २०६४ सालको पहिलो संविधानसभा सदस्य चुनाव, ०७४ को प्रदेशसभा सदस्य चुनाव र २०७९ को प्रतिनिधिसभा सदस्य चुनावमात्र जितेको रेकर्ड छ।

२०७९ मा माओवादी नेता देवप्रसाद गुरुङलाई झण्डै ३२ सय मतान्तरले पराजित गरेका उनले ३४ हजार ९८५ मत ल्याएका थिए। देवले ३१ हजार ७९१ मत र तेस्रोमा रहेका रास्वपाका धर्मराज केसीको पक्षमा ९ हजार ३३ मत परेको थियो। कुल १ लाख ३३ हजार ५५९ मतदातामध्ये ८० हजार १९२ मत खसेकोमा २ हजार ३८४ त बदर नै भएको थियो। लमजुङमा अहिले मतदाता बढेर १ लाख ३७ हजार १ सय २४ पुगेका छन्।

यसै गरी २०७४ को प्रदेशसभा चुनावमा उनले निकटतम् प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद कोइरालालाई हराएका हुन्। लमजुङ प्रदेशसभा क्षेत्र (२) मा गुरुङले २३ हजार ८८ मत ल्याउँदा कोइरालाले १५ हजार १०२ ल्याएका थिए। प्रदेशसभा क्षेत्र (१) बाट भने एमालेकै धनञ्जय दवाडी निर्वाचित भएका थिए।

गुरुङले जितेको पहिलो चुनाव २०६४ मा लमजुङ क्षेत्र २ बाट कांग्रेसका दिलबहादुर घर्तीलाई हराउँदै १९ हजार ५८३ मतका साथ पहिलोपल्ट संसद् भवन प्रवेश पाएका थिए।उनले २०४३ सालदेखि चुनाव लडे। त्यसबेला जन्मिएकाहरू पनि अहिले ४० वर्षका नै भए। जेनजीहरू हरेक तहमा युवा सहभागिता खोजिरहेका बखत ६८ वर्षीय गुरुङ चार दशकदेखि चुनाव लडिरहेका छन्।

२०३४ सालमा अमृत साइन्स क्याम्पसमा बिएस्सी अध्ययन सकेर आफ्नो गाउँ गिलुङको बुद्धोदय माविमा उनी शिक्षक पेसामा आबद्ध थिए। विज्ञानका शिक्षक उनी ७ वर्ष प्रधानाध्यापक रहँदै गर्दा राजीनामा दिएर २०४३ सालमा जनपक्षीय उम्मेदवार बनेका हुन्।

एक बाम-एक ठाम नारासहित चुनाव लड्दा राष्ट्रिय पञ्चायत सदस्यमा लेखनाथ अधिकारीसँग पहिलो हार व्यहोरेका थिए। उनी क्रमश: २०४८, २०५१, २०५६ मा पनि उम्मेदवार बने पनि सबैमा हारे। २०४८ र ०५१ को चुनावमा रामबहादुर गुरुङले पराजित गरे भने ०५६ को आमचुनावमा काँग्रेसका हरिभक्त अधिकारीले हराए। २०७० को दोस्रो संविधानसभा सदस्य चुनावमा कांग्रेसका चन्द्रबहादुर कुँवरसँगको प्रतिस्पर्धामा झिनो मतान्तर (६७२ मत) ले पराजित हुन पुगे।

२०६२-०६३ को दोस्रो जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत बनेका थिए। एमालेमा सचिव, उपमहासचिव हुँदै उपाध्यक्ष निर्वाचित उनले संघीय मन्त्री, प्रदेशको मुख्यमन्त्रीसहित विभिन्न महत्त्वपूर्णमा पदमा रहेर कर्तव्य निर्वाह गरेका छन्।

गण्डकी प्रदेशको मुख्यमन्त्री छँदा उनले संघीयता बलियो बनाउनुपर्नेमा जोड दिँदै आएका थिए। यस विषयमा आफ्नै पार्टी एमाले अध्यक्ष केपी ओलीविरुद्ध समेत प्रतिकारमा उत्रिन्थे।

पञ्चायतकालको समयमा राजनीतिमा होमिएका गुरुङ शिक्षक आन्दोलनबाट राजनीतिमा उदाएका नेता हुन्। २०२७ सालमा ईशानेश्वर प्रमोद हाई स्कुल, भोर्लेटार अनेरास्ववियूतर्फबाट स्ववियु सचिव हुँदै राजनीतिमा प्रवेश गरेका हुन्।

प्रकाशित: ४ माघ २०८२ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast