काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ‘निर्वाचनमार्फत नै निकास खोज्नु उपयुक्त हुने भारतीय मित्रहरूको सद्भाव रहेको’ बताएका छन् ।
सोमबार नयाँ दिल्लीबाट फर्केका प्रचण्डले मंगलबार पार्टीका शीर्ष नेताहरूसँग चुनावमार्फत नै निकास खोज्नुपर्ने सुझाव आएको बताएका हुन् ।
आइतबार नयाँ दिल्ली गएका प्रचण्डले भारतीय नेताहरूसँग अनौपचारिक संवाद गरेका थिए ।
बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भारतीय नेताहरूसँग देशको हितमा कुरा भएको बताए । ‘मुख्यत: उहाँ प्रवासी संगठनको कार्यक्रममा जानुभएको हो, भारतमा गएको बेला त्यहाँका महत्त्वपूर्ण व्यक्तित्वसँग कुरा गर्नु देशको हितमा हुन्छ,’ सापकोटाले पत्रकारहरूसँग भने ।
प्रवासी नेपालीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आइतबार र सोमबार बिहान भारतीय नेताहरूसँग छलफल गरेको बताएका थिए ।



