काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभामा तालमेलका बारेमा निर्णय गर्ने जिम्मा पार्टी संयोजक र सहसंयोजकलाई दिने निर्णय गरेको छ।
पार्टीसँगको एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको सहभागितामा मंगलबार पार्टी कार्यालय पेरिसडाडामा बसेको परामर्श बैठकले आवश्यकताका आधारमा राष्ट्रियसभामा तालमेलका बारेमा निर्णय गर्ने जिम्मा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाललाई दिने निर्णय गरेको नेता प्रकाश ज्वालाले जानकारी दिए।
सम्मानजनक सहमति भए कांग्रेस, एमाले र मधेशकेन्द्रित दलसहित राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेर जाने निष्कर्ष बैठकले निकालेको उनले बताए।
ज्वालाले राष्ट्रियसभामा मतभारको अवस्थाका आधारमा पार्टीले पाउनुपर्ने संख्यामा सहमति गरेर जान नेतृत्वलाई सुझाव दिइएको उल्लेख गरे। प्रतिनिधिसभा निर्वाचनका लागि भने आफ्नै पहिचानमा लड्ने तयारमा पार्टी रहेको उनले बताए।
बैठकले पुस २९ गतेसम्म संगठनात्मक संरचना तयार गर्ने र पुस २९ नै केन्द्रीय समितिको शपथ ग्रहणसहितको पहिलो बैठक बस्ने निर्णय गरेको ज्वालले बताए।
बैठकले देशभर भएको एकता सन्देशसभाले पार्टीप्रति जनताको आशा भरोसा जागृत भएको निष्कर्ष निकालेको छ।



