काठमाडौँ- नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अन्य दलसँग छलफल गरी उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाई दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग तालमेल गर्ने सहमति भसकेको भन्दै भट्टले चुनावी तालमेल गर्दा पार्टीले ७ सिट दाबी गरेको बताए।
हरेक प्रदेशमा एक जना पर्ने गरी ७ जनाको प्रतिनिधित्व हुने गरी पार्टी अध्यक्षले उम्मेदवारको टुंगो लगाउने उनले बताए। भट्टले राष्ट्रियसभामा मिलेर जाने भन्नेबारे सहमति भए पनि प्रतिनिधि सभाबारे अहिलेसम्म कुनै छलफल नभएको उल्लेख गरे।
बैठकले अध्यक्ष केपी ओलीको संयोजकत्वमा आम निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ। उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिव भट्टले जानकारी दिए।
त्यसै गरी बैठकले पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई निर्वाचन केन्द्रित कार्यविभाजन गरेको उनको भनाइ छ।
बैठकमा अध्यक्ष ओलीले एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफैँ निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको बताएका थएि।
त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद् पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिइरहेको उल्लेख गर्दै उनले यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको धारणा राखेका थिए।



