समृद्धिको सुनिश्चितता हुने गरी घोषणापत्र जारी गर्न गैससको सुझाव

हिमाल प्रेस १४ माघ २०८२ १५:२४ | Wednesday, January 28, 2026
2
SHARE
समृद्धिको सुनिश्चितता हुने गरी घोषणापत्र जारी गर्न गैससको सुझाव

काठमाडौँ- गैरसरकारी संस्था महासंघ, नेपालले लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको सुनिश्चितता हुने गरी घोषणापत्र जारी गर्न राजनीतिक दलहरूलाई सुझाव दिएको छ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले राष्ट्रिय नेतृत्वस्तरदेखि स्थानीय नेतृत्वसम्म सक्षम, जवाफदेही र पारदर्शी नेतृत्वको सुनिश्चितताका साथै लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको सुनिश्चितता हुने गरी घोषणापत्र जारी गर्न सुझाव दिएको हो।

पुस्तान्तरण र रुपान्तरणसहितको नेतृत्व विकासमा जोड दिनुपर्ने, आवश्यक कानुन निर्माण र विद्यमान कानुनमा रहेका कमजोरीको समसामयिक संशोधन, निर्वाचित सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्येक तीन महिनामा भेटघाट कार्यक्रम सञ्चालन गर्ने नीति तय गर्नुपर्ने महासंघको सुझाव छ।

त्यसैगरी सांसद र नागरिकबीच निरन्तर संवाद, जवाफदेहिता र पारदर्शिता सुनिश्चित हुनुपर्ने, वैदेशिक सहयोग र ऋण राष्ट्रिय प्राथमिकता, संविधान र जनहितअनुकूल नीति अनुरूप लागू गर्ने, नीतिगत वा राजनीतिक शर्तसहितको वैदेशिक सहयोग स्वीकार्य नहुने नीति स्पष्ट गर्नुपर्ने समेत सुझाव दिइएको छ भने नीति निर्माण, बजेट विनियोजन, योजना कार्यान्वयन र परिणामको निगरानीमा नागरिक समाजको सक्रिय सहभागिता सुनिश्चितका लागि समेत जोड दिनुपर्ने महासंघका अध्यक्ष अर्जुन भट्टराईले बताए।

नागरिकको जीवनसँग जोडिएका रोजगारी, समान अवसर, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सम्मानजनक जीवनका सवालहरू ओझेलमा परेको अवस्थामा आर्थिक तथा सामाजिक अधिकार स्थापित नभएसम्म राजनीतिक अधिकारको दिगोपना सम्भव नहुने महासंघको भनाइ छ। उक्त सुझावमा विभिन्न सामाजिक तथा नागरिक संघसंस्थाहरूको समेत ऐक्यबद्धता रहेको महासंघले जनाएको छ।

प्रकाशित: १४ माघ २०८२ १५:२४ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast