नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक। तस्बिर : रासस
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय सम्पादन समिति बैठक आज बस्दै छ। आजको बैठकमा कांग्रेसले आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुंगो आज लगाउने भएको हो। यसका लागि आज बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको छ ।
बिहान ११ बजे बस्ने बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल भइरहेको बताएका छन्।
राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियत अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको हो।



