कम्युनिस्ट एकतामा सामेल हुन विप्लवलाई नेकपा संयोजक प्रचण्डको आग्रह

हिमाल प्रेस १४ माघ २०८२ १५:०३
6
SHARES
कम्युनिस्ट एकतामा सामेल हुन विप्लवलाई नेकपा संयोजक प्रचण्डको आग्रह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्मसमिक्षासहित वृहत् कम्युनिस्ट एकतामा सामेल हुन नेकपा माओवादीका महासचिव नेतत्रविक्रम चन्द ‘विप्लव’ लाई आग्रह गरेका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा ⁠विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरुलाई नेकपामा समायोजन गराउँदै प्रचण्डले कम्युनिस्ट एकतामा सामेल नभए पछिसम्म पश्चाताप हुने भन्दै आत्मसमीक्षासहित वृहत् एकतामा सामेल हुन विप्लवलाई आग्रह गरे।

उनले समाजवादी मोर्चामा हुँदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व वैचारिक अन्योलको भूमरीमा हराएको तर्क गरे।

कुनै आवेगमा नभइ राष्ट्रको असाधारण परिस्थितिमा कम्युनिस्ट आन्दोलनका घटकहरुलाई एकता गरेर शक्ति आर्जनको प्रयास गरेको भन्दै प्रचण्डले अहिले विप्लवले उक्त मौका गुमाएको धारणा राखे। अझै पनि विप्लवप्रति आफुहरुको कुनै आक्रोश नभएको र आत्मसमीक्षासहित आए स्वागत गर्न तयार रहेको उनको भनाइ छ।

प्रचण्डले अहिले देश असहज परिस्थितिमा रहेकाले एकताबद्ध भएर देशव्यापी अभियानमा जान नसके देश अर्को दुर्घटनाम जान सक्ने भएकाले एकतामा जोड दिइएको बताए।

उनले अन्य कम्युनिस्ट घटकहरुलाई समेत एकतामा सामेल हुन आह्वान गरे।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य एवम विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल लगायतका नेताहरुलाई नेकपामा प्रवेश गराइएको थियो।

प्रकाशित: १४ माघ २०८२ १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast