लुम्बिनीको चुनावी दृश्य : मैदानमा पूर्वप्रधानमन्त्रीदेखि नवयुवासम्म

प्रतिस्पर्धामा अर्थविद्, डाक्टर, पाइलट, इन्जिनियर, अधिवक्ता र पत्रकार

विनोद परियार ८ माघ २०८२ ११:२४
8
SHARES
लुम्बिनीको चुनावी दृश्य : मैदानमा पूर्वप्रधानमन्त्रीदेखि नवयुवासम्म

बुटवल- लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमा ५ सय ९९ जना उम्मेदवार चुनावी मैदानमा छन्। ती उम्मेदवारहरू पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री भई राजनीतिमा लामो अनुभव सँगालेका नेतादेखि नवयुवासम्म छन्। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वबाट आफ्नो संसदीय राजनीति सुरक्षित गराउन उम्मेदवार बनेका छन्।

लगातार निर्वाचन क्षेत्र फेर्दै चुनाव लड्दै आएका प्रचण्ड आफूहरूले सुरु गरेको जनयुद्धको आधार इलाकाका रुपमा रुकुम पूर्वबाट उम्मेदवार बनेको बताएका छन्। त्यसो त प्रचण्ड यसअघि गोरखाबाट चुनाव लडेका थिए। हेभिवेटका नेताका रूपमा चिनिएका प्रचण्डसँग भने नवयुवाहरू मैदानमा उत्रेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुनसहित नेपाली कांग्रेसबाट कसुमदेवी थापा मगर, एमालेबाट लीलामणि गौतमसहित चुनावी मैदानमा छन्।

रुपन्देहीको निर्वाचन क्षेत्र न. २ मा २०५६ सालयता निरन्तर निर्वाचन लड्दै आएका संसदीय राजनीतिका अनुभवी एमाले उपाध्यक्ष विष्णु पौडेल चुनावी मैदानमा उत्रेका छन्। पौडेलले २०६४ सालयताका चारवटा निर्वाचन लगातार जितेका छन्।

पटकपटक निर्वाचनको अनुभव सँगालेर उमेरले समेत पाका पौडेलसँग चुनावी मैदानमा भिड्ने अधिकांश भने नयाँ अनुहारका छन्। नयाँ मात्रै होइन जेनजी आन्दोलनपछि नवयुवाहरू नै चुनावी मैदान ओर्लेका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट सुभाष पाण्डे (विश्वदीप), रास्वपाबाट अधिवक्ता सुलभ खरेल, नेकपा माओवादीबाट वीरेन्द्र विश्वकर्मा, राप्रपाबाट कार्भिका थापा, नेपाली जनता दलबाट राजु पौडेलसम्मका युवाहरू मैदानमा छन्।

यस्तै विभिन्न अभियानमार्फत चर्चामा रहेका डा. निकोलस भुसाल स्वतन्त्र उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसबाट व्यापारी पृष्ठभूमिका अनुभवी नेता चुन्नप्रसाद पौडेल उम्मेदवार छन्। यति मात्रै होइन ८१ वर्षीय बेलबहादुर कार्की पनि रुपन्देही २ को उम्मेदवार छन्।

रुपन्देही क्षेत्र न. ३ मा रास्वपाबाट पेसाले चिकित्सक डा. लेखजंग थापाले उम्मेदवारी दिएका छन्। तिनै डाक्टरसँग भिड्न मैदानमा छन् पाइलट गौरव बोहोरा। बोहोरा २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका स्व.दीपक बोहोराका छोरा हुन्। बुवाको निधनपछि छोरा गौरव बुद्ध एयरको सिनियर पाइलटबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन्।

यस्तै नेपाली कांग्रेसबाट युवा सुशील गुरुङ उम्मेदवार हुँदा एमालेबाट कुनै बेला काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन साहले रोलमोडेल मान्ने तिलोत्तमाका पूर्व मेयर बासुदेव घिमिरे मैदानमा छन्।

प्रदेशमै सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा मात्रै होइन, यसपटक गुल्मीको निर्वाचन झनै रोचक हुनेवाला छ। गुल्मी क्षेत्र न. १ मा एमालेका नेता निवर्तमान सांसद प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग यसअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेर चर्चित भएका सागर ढकाल मैदानमा छन्।

ढकालले रास्वपाबाट मनोनयन दर्ता गरेका हुन्। गुल्मी १ बाटै नेपाली कम्युनिस्ट पार्टीबाट वैचारिक नेताको छवि बनाएका सुदर्शन बराल मैदानमा छन्। त्यसो त यहाँ ज्ञवाली, भण्डारी र बरालले भने सामूहिक तस्बिर खिचाउँदै स्वस्थ प्रतिस्पर्धाको सन्देश दिएका थिए। गुल्मी २ बाट एमाले उपाध्यक्ष गोकर्ण विष्ट चुनावी मैदानमा छन्। विष्ट गुल्मीबाट लगातार निर्वाचित नेता हुन्।

पूर्वअर्थमन्त्री अनुभवी नेता वर्षमान पुन ‘अनन्त’ ले नेपाली कम्युनिस्ट पार्टीबाट रोल्पामा उम्मेदवार छन्। पुन: तेस्रोपटक रोल्पाबाट उम्मेदवार बनेका हुन्। यसअघि उनी ०७४ र ०७९ को निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका थिए। पुनसँग नेपाली कांग्रेसले अर्थविद् डा. सुदनकुमार ओलीलाई अगाडि सारेको छ भने नेकपा एमालेबाट गोकुलप्रसाद घर्ती मैदानमा छन्।

त्यसो त पाल्पा २ बाट निर्वाचनको लामो अनुभव सगालेका सोमप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन्। अघिल्लो पटक निर्वाचन जितेका ठाकुर गैरैले अन्तिममा टिकट पाएर चुनावमा होमिएका छन्।

प्रदेशको राजधानी रहेको जिल्ला दाङमा पनि अनुभवी र नयाँ पुस्ताका नेताहरूबीच रोचक भिडन्त हुँदैछ। नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ २ बाट उम्मेदवार छन्। पोखरेलसँग रास्वपा पार्टीका सहमहामन्त्री विपिन आचार्यसहित कांग्रेसबाट किरणकिशोर घिमिरेसहित २३ जना भिड्दैछन्। एमाले महासचिव पोखरेल यो ठाउँबाट अघिल्लो निर्वाचनमा पराजित भएका थिए।

दाङ क्षेत्र नम्बर १ मा पटकपटक सांसद भएका नेपाली कम्युनिस्ट पार्टीबाट मेटमणि चौधरी, नेपाली कांग्रेसका योगेन्द्र चौधरी नेकपा एमालेका रेवतीरमण शर्मा र नेकपाबाट विद्रोह गरेका लुम्बिनीका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीसँग रास्वपाका देवराज पाठक, राप्रपाका विनय जिसी मैदानमा छन्।

नेकपा एमालेका रेवतीरमण शर्मा भने लमही नगरपालिकाका हुन्। उता लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर बाँके १ बाट कृष्णा केसी (नमुना) ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट प्रतिनिधिसभाको उम्मेदवारी भएकी छन्। २०७९ मा तत्कालीन नेकपा माओवादीबाट प्रदेशसभामा निर्वाचित कृष्णाले एक्कासी पार्टी परित्याग गरी जनार्दन शर्माको अगुवाइमा बनेको प्रलोपाबाट उम्मेदवार भएकी हुन्। उनले बाँके–१ (१) मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा जितेकी थिइन्।

माओवादी सशस्त्र युद्धदेखि नै सक्रिय रहेकी केसी प्रदेशसभा २०७४ र २०७९ समेत गरी दुई पटक निर्वाचित भएकी थिइन्। उनी प्रदेश सरकारमा मन्त्रीसमेत भइसकेकी हुन्। प्रलोपाले नयाँ एजेन्डा बोकेको र बाँके जिल्लाको विकास प्रदेशबाट नभई संघबाट गर्नुपर्ने मतसहित उम्मेदवार भएकी हु्न्। यस्तै बाँके ३ बाट नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन उम्मेदवार बनेका छन्।

कपिलवस्तु निर्वाचन क्षेत्र न. ३ बाट पत्रकार चिन्ता परियार चुनावी मैदानमा उत्रेका छन्। पत्रकारिता पृष्ठभूमिबाट लुम्बिनीमा उम्मेदवार भएका परियार नै पहिलो हुन्। स्वतन्त्रबाट मैदानमा ओर्लेका छन्। जेनजी आन्दोलनपछि राजनीतिक नेतृत्वमा सुधारको आवश्यकता रहेको तर अझै सुधार नभएकाले जनताको आवाज उठाउन प्रतिनिधिसभा सदस्यका रुपमा उम्मेदवार भएको उनको भनाइ छ।

अर्बपति विनोद चौधरीले नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र न. २ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका छन्। चौधरीलाई टक्कर दिन राप्रपा उपाध्यक्ष तथा पूर्व सांसद धुव्रबहादुर प्रधान उम्मेदवार छन्।

यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका अर्थविद् डा. गोविन्दराज पोखरेल प्युठानबाट उम्मेदवार छन्। सोही ठाउँमा यसअघि त्यहीँबाट निर्वाचित नेकपा एमालेका सूर्य थापाको उम्मेदवार छन्।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट कृष्णध्वज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुसान्त वैदिक, राष्ट्रिय जनमोर्चाबाट तिलक जीसी, नेकपा (माओवादी केन्द्र) बाट सीता विक (सम्झना) चुनावी मैदानमा छन्।

लुम्बिनीका २६ निर्वाचन क्षेत्रमा ५ सय ९९ मनोनयन दर्तामध्ये २५० जना स्वतन्त्र उम्मेदवार छन्। यसमध्ये ३९४ जना उम्मेदवार दलहरूको हो। कुल उम्मेदवारमध्ये ५६ जना महिला उम्मेदवार छन्। ३३ लाख ८६ हजार ६८० मतदाता रहेको लुम्बिनीमा एक हजार ६७१ मतदानस्थल र ३९९८ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय लुम्बिनी दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। उनका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै उम्मेदवार रुपन्देहीमा १५७ जना र सबैभन्दा कम रुकुम पूर्व र रोल्पामा १२/१२ जना उम्मेदवार छन्।

प्रकाशित: ८ माघ २०८२ ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast