काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्थाबारे काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायतसँग अन्तरक्रिया छलफल गरेका छन्।
शनिबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा उनले छलफल गरेका हुन्।
छलफलमा अहिलेको विषम परिस्थिति, समुचित निकास, राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्व अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ।
यस अवसरमा शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा समेत नेता कोइरालाले छलफल गरेका छन्।
साथै आगामी आमनिर्वाचनमा एकताबद्ध रूपमा अगाडि बढ्ने भन्ने विषय, हालै पार्टीको अनुशासन समितिले गरेका कारबाहीको फुकुवालगायत विषयमा छलफल भएको थियो।
छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, मिनेन्द्र रिजाललगायतका नेताहरू उपस्थित थिए।



