रास्वपासँगको एकता भंगबारे कुलमान भन्छन्- पार्टी १२ दिन ‘कोमा’मा गयो, तर तन्दुरुस्त भएर निस्कियौँ

हिमाल प्रेस १३ माघ २०८२ १६:१६ | Tuesday, January 27, 2026
16
SHARES
रास्वपासँगको एकता भंगबारे कुलमान भन्छन्- पार्टी १२ दिन ‘कोमा’मा गयो, तर तन्दुरुस्त भएर निस्कियौँ

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिह्न कुनै पनि दलसँग विलय हुन नदिइने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित उज्यालो नेपाल काठमाडौँ-रामेछाप मञ्च गठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको एकता सम्झौतालाई ‘एउटा नराम्रो दुर्घटना’को रूपमा स्मरण गरे।

उक्त एकताका कारण पार्टी करिब १२ दिन ‘कोमा’ मा पुगेको टिप्पणी गर्दै अहिले पार्टी पुनः तन्दुरुस्त र सुदृढ अवस्थामा फर्किएको उनको भनाइ थियो।

‘पार्टी गठन भएको तीन महिना पनि पुगेको छैन। त्यस बीचमा हामी कोमामा पनि गयौँ, केही समस्या आए। तर अहिले हामी तन्दुरुस्त भएर निस्किएका छौँ,’ घिसिङले भने।

उनले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका १२१ जनालाई जिताउन सबैलाई अपिलसमेत गरे।

निर्वाचनका समयमा खर्च कसरी कम गर्ने भन्ने विषयमा सचेत हुनुपर्ने बेला नयाँ भनिएका दलहरू तडकभडकमा लागेकोप्रति उनले दुःख व्यक्त गरे।

‘अब हामी कुनै पनि दलसँग मिसिएर उज्यालो नेपाल पार्टीको नाम र चुनाव चिह्न विलय हुन दिने छैनौँ। अरू दलहरू हामीसँग मिसिन सक्छन्, तर हामी कसैसँग मिसिँदैनौँ,’ अध्यक्ष घिसिङले भने।

कार्यक्रममा उनले आफू नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख हुँदा हासिल भएका उपलब्धिबारे पनि चर्चा गरे।

प्रकाशित: १३ माघ २०८२ १६:१६ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast