काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन शक्ति र सत्ताको संघर्ष नभएको बताएका छन्।
आइतबार काठमाडौँमा पार्टीको विशेष महाधिवेशन उद्घाटन गर्दै महामन्त्री थापाले पार्टीलाई जनभावनाअनुसार अघि बढाउने वा नबढाउने भन्ने सोचको भिन्नताका कारण आफुहरु विशेष महाधिवेशनमा होमिएको भन्दै यसलाई शक्ति र सत्ताको संघर्षको रुपमा नबुझ्न आग्रह गरे।
उनले नेतृत्वले नभइ कांग्रेस प्रतिनिधिहरुले विशेष महाधिवेशन आयोजना गरेकाले महाविधेशनले गर्ने निर्णय सवैले स्वीकार गर्नुपर्ने बताए। महाधिवेशनले चाह्यो भने नेता र नीति दुवै बदल्न सक्ने भन्दै महामन्त्री थापाले बन्दसत्रले गर्ने निर्णय आफूलाई स्वीकार हुने धारणा राखे।
थापाले महाधिवशेन प्रतिनिधिहरुले गरेको प्रयासले कांग्रेस दास र लासहरुको पार्टी नभएको स्थापित गर्न सफल भएको धारणा राखे।
उनले भ्रष्टाचार, कुशासन र बेथितिसँग रिसाएका युवाहरु सडकमा आएको भन्दै उनीहरुको भावनालाई बुझ्ने, मनन गर्ने र सम्बोधन गर्ने प्रयास विशेष महाधिवेशनबाट हुने बताए।
महामन्त्री थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आफूहरूले सभापति बन्न आग्रह गरेको दाबी गरे। आफू र विश्वप्रकाश शर्मा खड्को घरमै गएर यस्तो आग्रह गरेको उनले बताए।
सभापति बन्न आग्रह गर्दा समेत विशेष महाधिवेशनको उद्घाटनमा उनको उपस्थिति नहुँदा चित्त दुखेको थापाले बताए। आफू गणेशमान र बीपीको कार्यकर्ता भएकोले युद्ध जित्नलाई हार्न पनि तयार रहेको उनले बताए।
महामन्त्री थापाले सभापति शेरबहादुर देउवालाई आराम गर्न आग्रह गरेको बताए। आफूले छोड्छु भनेपछि कांग्रेस र बाहिरका मान्छेले समेत प्रशंसा गरे पनि उनले महाधिवेशनप्रति जिम्मेवार नदेखिएको थापाले आरोप लगाए।
‘हामीले सभापतिजीलाई भनेका छौँ– समय आएको छ, तपाईँले छोडिदिनुस्, तपाईँले आराम गर्नुपर्छ, मार्ग प्रशस्त गरिदिनुस्,’ थापाले भने,‘मैले छोड्छु भनेपछि कांग्रेस र बाहिरका मान्छेले पनि नेता त शेरबहादुर देउवाजस्तो हुनुपर्छ भनेकै हुन्, त्यसका बाबजुद उहाँले महाधिवेशनप्रति जिम्मेवार देखिनुभएन।’



