इटहरी– नेपाली कांग्रेसका नेता विजय गच्छदार आठौँ पटक संसदीय चुनावी मैदानमा उत्रिएका छन्। गच्छदार २०४८ सालयता भएका आठवटै चुनावमा लड्ने कमै नेतामध्येमा पर्दछन्।
६ वटा चुनाव जितेका गच्छदारका लागि २०७९ को चुनाव भने फलदायी हुन सकेन। गच्छदार सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीसँग पराजित भएका थिए। यसपटकको चुनावमा पनि गच्छदारलाई चौधरीले नै चुनौती दिएकी छन्।
२०४८, २०५१, २०५६ मा प्रतिनिधिसभा सदस्य, २०६४ र २०७० को संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित गच्छदार १३ पटक मन्त्री र पाँचपटक उपप्रधानमन्त्री भइसकेका छन्।
पहिलोपटक २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको क्याबिनेटमा सूचना तथा सञ्चार राज्यमन्त्री बनेका गच्छदार त्यसपछि प्रायः सत्तामा रहिरहे। उनले आफ्नो रोजाइमा परेका गृह, भौतिक, जलस्रोत मन्त्रालयको पटकपटक नेतृत्व सम्हालेका थिए। २०४८ सालदेखि निरन्तर चुनाव जित्ने कांग्रेस नेतामा कांग्रेसका शेरबहादुर देउवा र गच्छदार मात्रै हुन्। देउवाले भने यसपटक निर्वाचन लडेका छैनन्।
गच्छदार राजनीतिमा हुने छक्कापञ्जाका सफल खेलाडी मानिन्छन्। उनी २०४८ पछिका हरेकजसो सरकारका सहभागी हुनु यसको उदाहरण हो। राजाको सक्रिय शासन २०६१ माघदेखि २०६३ वैशाखसम्म र २०७४ पछि भने उनी मन्त्री बन्न पाएनन्।
२०४८ सालमा तत्कालीन कोइरालाको किचन क्याबिनेटमा मुख्य चारजनाको हालीमुहाली हुन्थ्यो। जसलाई एकेजीबी (अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार) नामले चिनिन्थ्यो। चारमध्ये खड्काको निधन भइसकेको छ। भ्रष्टाचार मुद्दा लागेपछि जोशी कांग्रेसमा छैनन्। अर्का नेता केसी कांग्रेस राजनीतिमा सक्रिय छन्। केसी यसपटक प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बनेका छन्।
गच्छदार मन्त्री बन्दा बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउने कार्यमा संलग्न रहेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लामो समयदेखि फरार हुँदै आएका उनी पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए।
२०४८ मा भएको पहिलो निर्वाचनमा गच्छदारले तत्कालीन सुनसरी-२ बाट एमालेकी लीला श्रेष्ठ (सुब्बा) लाई पराजित गरेका थिए। २०५१ सालको मध्यावधि निर्वाचनमा गच्छदारले क्षेत्र नम्बर २ बाटै एमालेकै कुलदीप पेस्करलाई हराएका थिए।
२०५६ को निर्वाचनमा सोही क्षेत्रमा एमालेका रेवतीरमण भण्डारीलाई पराजित गरेर गच्छदारले संसदीय यात्रामा ‘ह्याटिक’ गरे। पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी सुनसरी-३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। गच्छदारका प्रतिस्पर्धी थिए कांग्रेसका अगमलाल चौधरी।
गच्छदार र भगवतीबीच पहिलोपटक २०७० को संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा भएको थियो। गच्छदार तत्कालीन मधेशी जनअधिकार फोरम लोकतन्त्रिकबाट उम्मेदवार थिए। चौधरी एमालेबाट उम्मेदवार थिइन्। चौधरीले १७ हजार १६२ मत ल्याएकी थिइन्। गच्छदारले १७ हजार ५२४ मत ल्याएर चुनाव जितेका थिए।
२०७४ को चुनावमा गच्छदार ३८ हजार ९७२ मत ल्याएर निर्वाचित हुँदा चौधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन्। उनीहरूबीचको मतान्तर ३२१ मात्र थियो। त्यति बेला चौधरी वाम गठबन्धनकी उम्मेदवार थिइन् भने गच्छदार नेपाली कांग्रेसका उम्मेदवार थिए।
२०७९ को चुनावमा चौधरीले ४० हजार ७ सय ८८ मत पाएर निर्वाचन जितिन्। निकटतम प्रतिद्वन्द्वी गच्छदारले ३५ हजार ६ सय मत ल्याएका थिए। गच्छदारलाई चौधरीले भ्रष्टाचारकै एजेन्डाले चुनाव हराएकी थिइन्। एमाले केन्द्रीय सदस्यसमेत रहेकी चौधरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महिला तथा बालबालिका मन्त्री भएकी थिइन्।
उक्त क्षेत्रमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अशोक चौधरी र नेपाली कम्युनिस्ट पार्टीबाट दुर्गेश चौधरी प्रतिस्पर्धामा छन्। सुनसरी-३ मा १ लाख ३४ हजार ३ सय २ मतदाता छन्।




