फाइल तस्बिर।
काठमाडौँ- कुनैबेला तत्कालीन नेकपा माओवादी केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’का खास व्यक्तिका रूपमा चिनिन्थे, कुलप्रसाद केसी। उनी द्वन्द्वकालबाटै माओवादी नेता हुन्।
२०२७ सालमा जन्मिएका केसीले २०४६ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका हुन्। उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन्। एसएलसी दिएपछि उच्च शिक्षाका लागि दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आईए भर्ना भएका केसी त्यहीँ पढ्दा विद्यार्थी संगठनबाट राजनीति गर्न थालेका थिए।
तीन वर्षसम्म आन्तरिक मामिला तथा कानुन मन्त्रालय चलाएका केसी माओवादी केन्द्रका संसदीय दलका नेता पनि हुन्। केसी शिक्षक हुँदै तत्कालीन माओवादी जनसेनाको कम्पनी कमिसार पनि भएका थिए।
उनी शिक्षक भएर पनि दुई वर्ष अध्यापनसमेत गरे । ०४८ सालदेखि २०५० सालसम्म रोल्पा लिवाङस्थित बालकल्याण माविमा स्थायी शिक्षक भएका उनी ०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएको भन्दै शिक्षकबाट अवकाश लिनुपरेको थियो। त्यसपछि उनी तत्कालीन जनमोर्चामा सक्रिय भई भूमिगत राजनीति सुरु गरेका थिए । पछि २०५२ मा माओवादीको उदय भएपछि उनी माओवादीको भूमिगत राजनीतिमा सक्रिय भए ।
विस २०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको जिम्मेवारी पाएका थिए । त्यसपछि २०५६ साल भेरी–कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए। उनी विस २०६० साल जेठ २० गते पार्टी बैठकका लागि भारत जाने क्रममा भारतको पटनामा पक्राउ परे। पछि माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ साउनमा मात्रै केसी जेलमुक्त भएका थिए।
माओवादीको फुटपछि मोहन वैद्यतिर लागेका केसी २०७३ सालमा रामबहादुर थापा बादलसँगै माओवादी केन्द्रमा फर्केका थिए । उनी २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा रोल्पा १ क बाट माओवादी(एमाले गठबन्धनको तर्फबाट चुनाव जितेका थिए। अहिले उनै केसी प्रतिनिधिसभा सदस्यको आकांक्षी थिए। उनले दाङ १ बाट चुनाव लड्न चाहेका थिए। तर उनी सिफारिस भए पनि उम्मेदवार बन्न सकेनन्।
प्रचण्ड नेतृत्वकै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मेटमणि चौधरीलाई उम्मेदवार बनायो। चौधरी तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता हुन्।
माधव नेपालका विश्वास पात्र चौधरीले टिकट हत्याउँदा केसी जिल्लिए। तर पनि उनले उम्मेदवारी दिए। तर आज उनै केसी कारबाहीमा परेका छन्। प्रचण्ड–नेपालले सामूहिकरूपमा निकालेको विज्ञप्तिमा नेकपाको साधारण सदस्यबाट पनि केसीलाई निकालिएको छ।
पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कार अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ । दाङ १ मा यसअघि चौधरीले जितेका आधारमा उनलाई टिकट दिइएको हो।



