एमालेसँग चुनावी गठबन्धनले प्रलोपामा तरंग

हिमाल प्रेस १२ माघ २०८२ ११:५८
66
SHARES
एमालेसँग चुनावी गठबन्धनले प्रलोपामा तरंग

काठमाडौँ- नेकपा एमालेसँग प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गरेको चुनावी गठबन्धनले वैकल्पिक राजनीति र जेनजी आन्दोलनको जगमा उभिएको दाबी गर्ने पार्टीका लागि दीर्घकालीन रूपमा कति लाभदायी हुन्छ भन्ने बहस पार्टीभित्र चर्किँदै गएको छ।

आइतबार प्रलोपा र एमालेबीच रुकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनका पक्षमा एमालेले आँखा चिह्नमा मतदान गर्ने तथा कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्ला र पुरानो राप्ती अञ्चलका जिल्लामा प्रलोपाले एमालेका उम्मेदवारका पक्षमा सूर्य चिह्नमा मतदान गर्ने सहमति भएको थियो।

एमालेसँगको चुनावी गठबन्धनप्रति पार्टीभित्र विशेषगरी जेनजी पंक्तिमा तीव्र असन्तुष्टि छ। गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। उक्त आन्दोलनमा कम्तीमा ७५ जनाको  ज्यान गएको भन्दै त्यसको नैतिक जिम्मेवारी तत्कालीन सरकारको नेतृत्वमाथि रहेको जेनजी युवाको तर्क छ। यही पृष्ठभूमिमा एमालेसँग चुनावी गठबन्धन गरिएको भन्दै प्रलोपामा प्रवेश गरेका जेनजी कार्यकर्ताहरू आक्रोशित भएका हुन्।

यसैगरी सामाजिक सञ्जालमा पार्टी नेताकार्यकर्ताहरूले भिन्नभिन्न धारणा सार्वजनिक गरेका छन्। कसैले गठबन्धनलाई व्यावहारिक राजनीति भनेका छन् भने कसैले सिद्धान्त र आदर्श त्यागेर जितका लागि गरिएको सम्झौता भन्दै तीव्र आलोचना गरेका छन्। पार्टीभित्रका नेताहरू र कार्यकर्ताहरूबीच मतभेद खुलेर सार्वजनिक हुन थालेको छ। प्रलोपा केन्द्रीय सदस्य रोशन पोखरेलले चुनावी गठबन्धन जितका लागि मात्र हुने भन्दै संविधानले दिएको अधिकार प्रयोग गर्नु गलत नभएको तर्क गरेका छन्।

‘पार्टी एकताका लागि विचार, नीति, दृष्टिकोण, संगठनात्मक सोचको बिचमा समान हुन जरुरी हुन्छ। सरकार गठबन्धनको लागि न्यूनतम नीति, कार्यक्रमको बिचमा समान हुन जरुरी पर्छ तर चुनावी गठबन्धन बिलकुलै फरक विषय हो। यो चुनावी जित हासिल गर्न मात्रै सम्बन्धित छ। बरु यसका लागि सम्बन्धित क्षेत्रका नेताकार्यकर्ताको मनोविज्ञान अनि मतदाताको सोच चाहिँ बुझ्नुपर्छ। त्यसैले संविधान प्राप्त सुविधालाई सदुपयोग गर्नु किमार्थ गल्ती हुन्न र हुँदैन पनि,’ पोखरेलले लेखेका छन्।

गण्डकी प्रदेश इन्चार्ज नेत्र चापागाईँले एमाले प्रलोपा गठबन्धन जेनजी विद्रोहको जनादेशविरुद्ध गरिएको सम्झौता आफूले नमान्ने बताएका छन्। ‘कर्णाली प्रदेशमा भएको गठबन्धन जेनजी विद्रोहको जनादेशविरुद्ध गरिएको सम्झौता मान्दिनँ। नेताको स्वार्थका लागि सधैँ विरोध र प्रतिस्पर्धा गर्दै आफ्नो कुरा राख्दै आएको छु। सके आफैँले निर्माण गर्ने हो नभए नयाँ बनाउछु भनेकालाई सहयोग गर्ने हो। त्यो पनि नसके नागरिक भएर बस्न हो पछाडि फर्किने होइन,’ चापागाईँले लेखेका छन्।

उनले पार्टी अध्यक्ष दुर्गा सोबलाई तत्काल निर्णय फिर्ता लिएर वैकल्पिक राजनीति र पछिल्लो आन्दोलनको जनादेश अनुसार अडिन आग्रह गरेका छन्।

पार्टीका एक शीर्ष नेताले पनि एमाले र प्रलोपाबीचको चुनावी गठबन्धनले जेनजी युवा असन्तुष्ट भएको सोमबार हिमालप्रेसलाई जानकारी दिए। उनले भने, ‘गोरखा-२ मा डा.बाबुराम भट्टराईले उम्मेदवारी दिनु र फिर्ता लिनुले पार्टीका उम्मेदवारको मनोविज्ञानमा असर पर्‍यो। कार्यकर्ताको मनोबल बलियो बनाउन रुकुम पश्चिममा जनार्दन शर्मालाई जसरी पनि जिताउनुपर्छ भन्ने पार्टीको धारणा छ। रुकुम पश्चिममा जनार्दनले एमाले नेताकार्यकर्तासँग चुनावी तालमेल विषयमा सल्लाह गर्नुभएछ। अनि पार्टी केन्द्रको निर्णय चाहिन्छ भनेर पछि एमाले र प्रलोपाबीच सहमति भएको हो।’

तर एमाले र प्रलोपाबीचको चुनावी गठबन्धनको सहमति प्रलोपा संरक्षक डा.बाबुराम भट्टराईलाई कुनै जानकारी छैन। ती शीर्ष नेताले समेत सो विषयमा डा.भट्टराईसँग कुनै परामर्श नगरेको स्वीकार गर्दै आवश्यक पनि नभएको बताए। ‘बाबुराम सरसँग पार्टीले सल्लाह गर्दैन। उहाँ आफ्नो तरिकाले चल्नुहुन्छ,’ ती नेताले भने।

गोरखा क्षेत्र १ र २ बाटै एकल सिफारिस भएका डा. भट्टराईले उम्मेदवारी दिएको र फिर्ता गरेको विषयमा पार्टीभित्र चर्को असन्तुष्टि छ। ती शीर्ष नेताका अनुसार डा.भट्टराईले पार्टीको सहमतिविपरीत उम्मेदवारी फिर्ता लिएका थिए। त्यसो त उम्मेदवारी नदिने बताउँदै आएका डा. भट्टराईले उम्मेदवारी दिएपछि एक पक्ष सशंकित थियो।

डा.भट्टराईले उम्मेदवारी दिनुको पाँच कारण पनि सार्वजनिक गरेका थिए। उनले बदलिँदो भूराजनीतिक परिस्थिति, लोकतन्त्रको रक्षा, संविधान संशोधन, आर्थिक-सामाजिक रूपान्तरण र गोरखाको विकासलाई आफ्नो उम्मेदवारीको आधार बताएका थिए। तर पछि विभिन्न दलका नेताहरूको आग्रहपछि ‘अभिभावकीय भूमिका’ निर्वाह गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए।

प्रकाशित: १२ माघ २०८२ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast