काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पेसागत बुद्धिजीवी विभागकी प्रमुख डा. डिला संग्रौलाले अहिलेको अवस्थामा नेपाली कांग्रेस विभाजन नहुने दाबी गरेकी छन्। उनले आफूहरू दुवै पक्षका नेताहरूसँग निरन्तर सम्पर्कमा रहेर समन्वय गरिरहेकाले पार्टीमा फुट नआउने बताएकी हुन्।
संग्रौलाले हिमालप्रेससँग बिहीबार कुराकानी गर्दै महाधिवेशन आयोजक समितिले आह्वान गरेको विशेष महाधिवेशन भेलामा परिणत हुने र एकताको सन्देश दिने बताइन्। उनले भनिन्, ‘उहाँहरूले आयोजना गरेको विशेष महाधिवेशन भेलामा रुपान्तरण हुनेछ। त्यसमा संस्थापनका नेताहरूले सम्बोधन गर्नु हुनेछ। अहिलेसम्म नेताहरूसँग भएका कुराकानीले यस्तै संकेत गर्छ।’
संग्रौलालगायतका नेताहरू नेपाली कांग्रेसका संस्थापन पक्ष र महामन्त्रीद्वय थापा र शर्मा पक्षधरलाई मिलाउन सक्रिय छन्। पार्टी सभापति शेरबहादुर देउवा फुटबाट उत्पन्न हुने नकारात्मक परिणामबारे जानकार रहेकाले पनि उनीबाट अब त्यस्तो घटना नदोहोरिने दाबी संग्रौलाको छ।
२०५९ सालमा प्रधानमन्त्री रहेका बेला सभापति गिरिजाप्रसाद कोइरालाले साधारण सदस्यसमेत नरहने गरी देउवालाई पार्टीबाट निकालिदिएका थिए। अहिलेको अवस्था भने त्यस्तो नरहेको संग्रौला बताउँछिन्। उनले भनिन्, ‘उति बेला सन्दर्भ बेग्लै थियो, विशेष महाधिवेशन डाकिएको थिएन। अहिले त पार्टीको विधानबमोजि नै महामन्त्रीद्वयले विशेष महाधिवेशन माग गर्नुभएको हो।’



