‘काठमाडौँ- नेपाली कांग्रेस देउवा पक्षका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को चुनावमा सकारात्मक परिणाम हासिल गर्न दुवै पक्ष मिलेर जानुपर्ने बताएका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा र १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाको एकल निर्णयले मात्र आसन्न निर्वाचनमा विजय हासिल गर्न नसकिने भन्दै उनले यस्तो बताएका हुन्।
विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियतासँग आफ्नो विमति रहे पनि वर्तमान परिस्थितिमा एक भएर जानुको विकल्प नभएको उनले जिकिर गरेका छन्।
‘विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियतासँग मेरो पनि विमति छ। यसका बारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधीन छन्,’ विश्वकर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रक्रियामा काफी विमतिका बाबजुद पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरी हाम्रा विचारमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ।’
विश्वकर्माले सबैको साझा सहमति प्रयास र उम्मेवारले मात्र राम्रो परिणाम दिन सक्ने जिकिर गरेका छन्।
‘यसका लागि नग विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय, न त चौधौँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाको एकल निर्णयबाट आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ। केवल सबैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिनसक्छ। तसर्थ विवाद अब अयोगमात्रै होइन अदालत पुगिसक्यो। अब झगडा अदालतमा छोडौँ। परिणाम जे आउँछ मान्न तयार बनौँ,’ उनले लेखेका छन्।
विश्वकर्माले आधा टिकटमा देउवाले र बाँकीमा गगनले हस्ताक्षर गर्ने भन्दै सबैको सहमतिमा उम्मेदवार चयन गर्न सुझाव दिएका छन्।
‘हिजो उम्मेदवारको टिकटमा कसको हस्ताक्षर हुने भन्ने विवाद थियो। आधामा देउवाले गर्नुभयो। बाँकीमा अब गगनले गर्नुहुन्छ। सबैको सहमतिमा उम्मेदवार चयन गरौँ,’ उनले भनेका छन्, ‘उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेदवारको पक्षमा भोट माग्ने वातावरण बनाऔँ। यसका लागि देउवा, गगन, पूर्णबहादुर शेखर एकठाउँमा अहिलै बस्नुस्, घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस्।’



