कांग्रेसमा कचिंगल : विशेष महाधिवेशन र भ्रातृ संस्थाको बृहत् भेला एकै दिन

हिमाल प्रेस २५ पुष २०८२ १२:२९
16
SHARES
कांग्रेसमा कचिंगल : विशेष महाधिवेशन र भ्रातृ संस्थाको बृहत् भेला एकै दिन

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन डाकेकै दिन कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले भ्रातृ तथा शुचेच्छुक संस्थाहरूको बृहत् भेला डाकेको छ।

तरुण दलका अध्यक्ष विद्वान् गुरुङले शुक्रबार सूचना जारी गर्दै २७ गतेका लागि भेला डाकेका हुन्। महामन्त्रीद्वयले २७ गतेदेखि २८ गतेसम्म काठमाडौँमा विशेष महाधिवशेन डाकेका छन्।

महामन्त्रीद्वय विशेष महाधिवेशनमा जुटेका छन्। काठमाडौँको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा जिल्लाजिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम जारी रहेको आयोजक समितिका नेताहरूले बताएका छन्। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको आग्रहमा विशेष महाधिवेशन हुन लागेको हो।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले भने नियमित महाधिवेशन मिति तय भइसकेकाले विशेष महाधिवेशनको औचित्य सकिएको निर्णय गरेको छ। अब प्रतिनिधिसभा निर्वाचनमा जुट्नुपर्ने संस्थापन पक्षको भनाइ छ।

विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा असहमति जनाएका छन्। विशेष महाधिवेशन पक्षधर नेताहरू पार्टीमा रुपान्तरणका लागि विशेष महाधिवेशनपछि मात्रै प्रतिनिधिसभा निर्वाचनमा जानुपर्ने पक्षमा छन्। महामन्त्री थापाले पनि जनतासँग जान कांग्रेससँग कुनै एजेन्डा नरहेकाले नीति र नेतृत्वमा परिवर्तन आवश्यक रहेको  बताउँदै आएका छन्।

संस्थापन पक्षले पार्टीको विधानलाई बेवास्ता गरेको आरोप महाधिवेशन पक्षधरले लगाउँदै आएको छ। कांग्रेस विधानको धारा १७ (२) मा उल्लेख छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ।’

विधानको यही प्रावधानमा टेकेर महाधिवेशन पक्षधरले विशेष महाधिवेशन माग गर्दै केन्द्रीय समितिमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको थियो। यद्यपि यसबारेमा कांग्रेस केन्द्रीय कार्यसमितिले कुनै निर्णय गर्न नसकेपछि कांग्रेसमा विवाद चुलिँदै गएको हो।

कांग्रेसमा विशेष महाधिवेशन तत्काल गर्नुपर्ने पक्षमा महामन्त्रीद्वय उभिएका छन् भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारी चुनावपछि नियमित गर्नुपर्ने अडानमा छन्। सोही कारण पार्टीमा विवाद चुलिएको छ। यही विवादका कारण पार्टी विभाजन हुने शंका भइरहँदा दुवै पक्षका नेताहरूले पार्टी विभाजन नहुने दाबी गर्दै आएका छन्।

तरुण दलका अध्यक्ष गुरुङ पार्टी सभापति शेरबहादुर देउवाबाट आशीर्वाद पाएर अध्यक्ष भएका व्यक्ति हुन्। उनलाई २०७८ सालमा देउवाले अध्यक्षमा मनोनयन गरेका थिए। उनले तरुण दलको अधिवेशन गर्ने जिम्मेवारी पाए पनि चार वर्ष बित्दासम्म वडा तहको पनि अधिवेशन हुन सकेको छैन।

उनले जारी गरेको सूचनामा वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने पार्टीको १५ औँ महाधिवेशन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ध्यानमा राख्दै भेला आयोजना गरेको उल्लेख छ। ‘२०८३ साल वैशाख २८,२९,३० र ३१ गते हुने १५ औं महाधिवेशन र २०८२ साल फागुन २१ गते हुन गइरहेको आम निर्वाचनलाई ध्यानमा राख्दै नेपाल तरुण दलको समन्वयमा हुने नेपाली कांग्रेसका सम्पूर्ण भातृ र शुभेच्छुक संस्थाहरुको बृहत् भेलामा उपस्थितिका लागि नेपाल तरुण दलका सम्पूर्ण जिल्ला अध्यक्षहरुलाई अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ।

महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशन पार्टी विधानविपरीत रहेको दाबी संस्थापन पक्षको छ।

व्यक्तिगत रूपमा बोलाइएका अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टी विधानविपरीत रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन कांग्रेसले पार्टीका सबै तहका पदाधिकारी एवं सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई यसअघि नै आह्वान गरेको थियो।

‘नियमित १५ औँ महाधिवेशनको कार्यतालिकाबमोजिम आवश्यक प्रक्रिया अघि बढिसकेको सन्दर्भमा ‘विधानबमोजिम समयमै नियमित १५ औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन’ गर्ने भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गते नै स्वतः समाप्त भएको पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्पष्ट गरिसकेको छ,’ कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २५ पुष २०८२ १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast