कांग्रेस संस्थापनको रणनीति : विशेष महाधिवेशनले नेतृत्व छाने अदालत गुहार्ने

धैर्यकान्त दत्त २८ पुष २०८२ १९:१०
80
SHARES
कांग्रेस संस्थापनको रणनीति : विशेष महाधिवेशनले नेतृत्व छाने अदालत गुहार्ने

काठमाडौँ- नेपाली कांग्रेसभित्र महाधिवेशनसम्बन्धी विवाद जेनजी प्रदर्शनलगत्तै सुरु भयो। संस्थापननिकटले फागुन २१ का लागि घोषणा भएको चुनावपछि महाधिवेशन गर्ने अडान लिए भने संस्थापन भनेरै चिनिने महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघि।

चुनावअघि र चुनावपछि महाधिवेशन गर्ने विषयमा रस्साकस्सी चलिरहेकै बेला पार्टी केन्द्रीय कार्यालयमा एउटा अर्को प्रस्ताव दर्ता भयो- विशेष महाधिवेशनको। कांग्रेसको आठ दशक लामो इतिहासमाय यो प्रस्ताव दोस्रोपटक आएको थियो। विसं. २०१४ सालमा पहिलोपटक विशेष महाधिवेशनबाट गुज्रिसकेका कांग्रेस नेताहरूले दोस्रो प्रस्तावलाई खासै वास्ता गरेनन्।

उनीहरूलाई लाग्यो- यो खेलाँचीमा आएको प्रस्ताव हो। विशेष महाधिवेशनको अगुवाइ गुरुराज घिमिरेहरूले गरिरहे पनि पर्दा पछाडि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भूमिका खेलिरहेका थिए। नियमित महाधिवेशन पुसमै गर्न दबाब दिने ‘हतियार’ स्वरूप विशेष महाधिवेशनको प्रस्ताव कांग्रेस पार्टी कार्यालयमा दर्ता भएको थियो।

मंसिर वा पुसभित्र नियमित महाधिवेशन भएन नै केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनतर्फ पनि चासो देखाएन। बरु केन्द्रीय कार्यसम्पादन समिति बैठकले पुसका लागि तोकिएको नियमित महाधिवेशनको समय परिवर्तन गरेर वैशाखमा सार्ने निर्णय गर्‍यो। यो निर्णयमा दुवै महामन्त्री, एक सहमहामन्त्रीसहित पाँच जनाले ‘नोट अफ डिसेन्ट’ लेखे।

कार्यसम्पादन समितिको यो निर्णयसँगै विशेष अधिवेशनको ‘च्याप्टर क्लोज’ भइसकेको सभापति शेरबहादुर देउवासहित संस्थापननिकट नेताहरूलाई लागेको थियो। तर उनीहरूको बुझाइविपरीत विशेष महाधिवेशन पक्षधरहरू काठमाडौँ पुग्ने तयारीमा जुटिसकेका थिए। संस्थापन पक्षलाई लागेको थियो- विशेष महाधिवेशनमा बहुमत संख्यामा महाधिवेशन प्रतिनिधि नै पुग्दैनन्। तर भृकुटीमण्डपमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि पुगे। आइतबार उद्घाटन सम्पन्न भएको विशेष महाधिवेशनको सोमबार बन्दसत्र भएको छ। बन्दसत्रले केन्द्रीय समिति भंग गरेर नयाँ नेतृत्व चयन गर्ने कार्यविधि पारित गरेसँगै कांग्रेस संस्थापन पक्षमा तरंग पैदा भएको छ।

बन्दसत्रको यो निर्णयसँगै सभापति देउवा संस्थापननिकटका मात्रै होइन नेता डा.शेखर कोइराला, मिनेन्द्र रिजाललगायतहरूसँग छलफल गरेका छन्। छलफलका क्रममा नेता कोइरालाले पार्टी फुट्नबाट जोगाउन देउवालाई आग्रह गरेका छन्। कोइरालाले सभापति देउवालाई विशेष महाधिवेशनस्थलमा उपस्थित भएर त्यसको स्वामित्व लिन आग्रह गरेको एक नेताले बताए।

विशेष महाधिवेशनले निर्णयकै कारण पार्टी विभाजन हुने चिन्ता सभापति देउवालाई देखिएको उनीनिकट नेताहरूको भनाइ छ। छलफलका क्रममा संस्थापननिकट नेताहरूले पनि पार्टीलाई एकताबद्ध गरेर हिँड्न सभापति देउवालाई सुझाव दिएका थिए। यसका साथै संस्थापनिकट कतिपय नेताहरूले कानुनी जटिलताका कारण पनि विशेष महाधिवेशनले पार्टी फुटाउन नसकिने तर्क गरेका थिए।

सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय समितिले अपनत्व ग्रहण नगरेको विशेष महाधिवेशन वैधानिक नहुने तर्क गरेका छन्। उनका अनुसार केन्द्रीय समितिले आह्वान गरेको विशेष महाधिवेशनमात्रै वैधानिकता पाउँछ।

‘विशेष महाधिवेशन केन्द्रीय समितिले आह्वान गर्नुपर्ने विधानको व्यवस्था छ। मानौँ कुनै कारणले केन्द्रीय समितिले आह्वान गर्न सकेन भने महाधिवेशन प्रतिनिधिहरूको रुजु कसले गर्ने?,’ सभापति देउवासँग छलफल गरेर बाहिरिएका यादवले भने, ‘यो वैधानिक हुँदै होइन, कानुनी रूपले पनि यसले वैधानिकता पाउन सक्दैन।’

सभापति नै उपस्थित नभएको महाधिवेशनले वैधानिकता पाउनैनसक्ने उनको दाबी छ। ‘सुवर्ण शमशेरले राजीनामा दिइसकेपछि सभापति पद रिक्त हुँदा पहिलो विशेष महाधिवेशन भएको थियो,’ उनले भने,‘अहिले त्यो अवस्था छैन नि, सभापति हुँदै हुनुहुन्छ, राजीनामा दिनुभएको छैन। अर्को कुरा सभापति नै उपस्थित नभएको महाधिवेशन कानुनी रूपमा पनि अवैधानिक हुन्छ।’

कार्यविधि पारित गरेर नीतिका साथै नेतृत्व परिवर्तन गर्ने तयारी विशेष महाधिवेशन पक्षधरको छ। संस्थापननिकट नेताहरूले विधान र कानुनी कुरा गरिरहँदा उनीहरूले विधानसम्म नै विशेष महाधिवेशन गरेको तर्क गरेका छन्। ४० प्रतिशत वा योभन्दा बढी प्रतिनिधिले कारण देखाएर माग गरेको अवस्थामा विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था भएको र यही व्यवस्था अनुसार यतिबेला विशेष महाधिवेशन भएको उनीहरूको भनाइ छ।

४० प्रतिशत वा सोभन्दा बढी प्रतिनिधिले माग गरेको अवस्थामा विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था भए पनि केन्द्रीय कार्यसमितिले नबोलाएको अवस्थामा के हुनेबारे कांग्रेसको विधानले स्पष्ट बोलेको छैन। त्यसैले विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको अवस्थामा यो विषय अदालतमा पुगेर अन्तिम निर्णय हुने बुझाइ संस्थापननिकट नेताहरूको छ।

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका श्याम घिमिरे विशेष महाधिवेशनमा होमिएका महामन्त्रीहरू नयाँ नेतृत्व चयन गरेर कानुनी झमेलामा नपर्ने बताउँछन्। ‘विनविनको पोजिसन’ मा राखेर समझदारी गर्ने कोसिस भइरहेको उनको भनाइ छ। घिमिरिले विशेष महाधिवेशनले नयाँ नेतृत्व चुनेको घोषणा गरे पनि यो विषय अदालतमा पुग्ने बताए।

‘महामन्त्रीहरूसँग पनि जटिलता छ, आज २८ गते भयो, माघ ६ गते नोमिनेसन छ। उहाँहरू आधिकारिक भनेर आयोगमा जानुभयो भने आयोगले सनाखत त गराउला नि, केही समय त देला नि, ६ गते नोमिनेसन त सकिन्छ, चुनावको प्रक्रियामा मुलुक जान्छ,’ सभापति देउवासँगको छलफलपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘जसलाई चित्त बुझ्दैन त्यो पक्ष अदालत जान्छ, अदालतको निर्णय आउँदासम्म वैशाखको अधिवेशन पनि आइसकेको हुन्छ, अनि किन हतार गर्नुपर्‍यो। यो कोर्ट कचहरीको झमेलामा उहाँहरू लाग्नु हुन्छ भन्ने मलाई लाग्दैन।’

एकातर्फ कानुनी सहारा लिएर अगाडि बढ्ने रणनीति बनाइरहेको कांग्रेस संस्थापन पक्ष अहिलेको जटिल परिस्थितिलाई ‘सेफ ल्यान्डिङ’ गराउनतर्फ पनि जुटेको छ। विशेष महाधिवेशनको बन्दसत्रबाट नयाँ नेतृत्वको घोषणा हुनुअगावै संवादमार्फत समस्या समाधान गर्ने प्रयासमा संस्थापननिकट नेताहरू लागेका छन्। सभापति देउवासँगको छलफलमा पनि उनीहरूले पार्टीलाई एकताबद्ध बनाउन पहल गर्न सुझाव दिएका छन्।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले वर्तमान समस्या समाधान गर्न सभापति देउवाले महामन्त्रीहरूसँग संवाद गर्ने बताए। महामन्त्रीलगायतका नेताहरूसँग छलफल गर्न सभापति सकारात्मक रहेको उनको भनाइ छ।

‘प्लेन टेक अफ गरिसक्यो, अब कसरी सेफ ल्यान्डिङ गराउने भन्ने हो,’ उनले भने ,‘सभापतिले विशेष महाधिवेशनमा जुट्नु भएका महामन्त्रीलगायतका नेताहरूसँग संवाद गर्नुहुन्छ।’

विश्वकर्माले पार्टीलाई एकढिक्का राख्न सभापति, कार्यवाहक सभापति, पदाधिकारीहरूलाई सबै प्रयास गर्न आफूहरूले आग्रह गरेको बताए। नियमित महाधिवेशनको मिति घोषणा भएर कार्यक्रम अगाडि बढिसकेकाले विशेष महाधिवेशनले वैधानिकता नपाउने भए पनि समस्या समाधान गर्न हरसम्भव पहल भइरहेको उनले बताए।

केन्द्रीय सदस्य मोहन बस्नेत विशेष महाधिवेशनको बन्दसत्रले गर्ने निर्णय हेरेर आवश्यक कदम उठाइने बताए। उनले भने, ‘तालिका आइसकेपछि महाधिवेशनका लागि हतार गर्नुपर्ने थिएन। उहाँहहरूले गर्ने गतिविधि हेरेर केन्द्रीय समितिले गर्नुपर्ने काम गर्छ।’

त्यस्तै केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीलाई दुर्घटनबाट बचाउन अन्तिमसम्म प्रयास गर्ने विषयमा सभापतिसँग छलफल भएको बताए। ‘सभापतिजीले शेखर कोइराला र मिनेन्द्र रिजालसँग पनि छलफल गर्नुभएको छ, एकताबद्ध भएर जानुपर्छ भनेर भन्नु भएको छ,’ उनले भने, ‘दुर्घटनबाट जोगाउन अन्तिमसम्म प्रयास गर्ने बताउनुभएको छ। महामन्त्रीहरूसँग आजै छलफल गर्नुहुन्छ।’

प्रकाशित: २८ पुष २०८२ १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast