काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हदको विषयमा जाँचबुझ आयोगले बैठक बसेर निर्णय गर्ने भएको छ ।
ओलीलाई पत्र बुझाउन पुगेका जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले लिखित जवाफ लिएर फर्किएको स्वीकारेका छन् ।
आयोगको टोलीले आज भक्तपुरस्थित गुण्डु निवासमा पुगेर लिखित रूपमा बयान लिएपछि स्थान हदको विषयमा केही दिनमै निर्णय गर्ने जनाएको छ ।
गुण्डुमै पुगेर जाँचबुझ आयोगले लियाे ओलीकाे लिखित बयान
ओलीले दिएको लिखित जवाफको विषयमा अध्ययन गरेर स्थान हदका विषयमा निर्णय हुनेछ । यसअघि ओलीले जाँचबुझ आयोगलाई बयान नै नदिने भनी सार्वजनिक भाषण गरेका थिए ।
बयान दिन जान परेमा बरु सिंहदरबार घेर्नेसम्मको चेतावनी दिएका ओलीले पछिल्लो समय आफ्नो निवासमा आए लिखित जवाफ पठाउने बताएका थिए ।
त्यसपछि आयोगले लिखित रूपमा प्रश्न तयार गरेर ओली निवास गुण्डुमा पत्र पठाएको थियो । जवाफ नदिए आयोगले ओलीलाई जरिवाना तिराएर छाड्ने तयारीमा थियो ।
जाँचबुझ आयोग ऐन २०२६ अनुसार गठित आयोगलाई २३ र २४ भदौका घटना (हिंसा, तोडफोड, लुटपाट, आगजनी) का कारण पहिचान गर्ने र छानबिनपछि कारबाहीका लागि सिफारिस गर्ने मुख्य जिम्मेवारी तोकिएको छ ।
जाँचबुझका क्रममा कुनै व्यक्तिलाई आयोगसमक्ष उपस्थित गराई बयान लिने, प्रमाण बुझ्ने, कुनै सरकारी वा सार्वजनिक कार्यालय वा अदालतबाट प्रमाण आवश्यक भए बुझ्ने र कुनै व्यक्तिलाई लिखत वा विवरण पेस गर्न पनि आदेश दिन सक्ने अधिकार ऐनले दिएको छ ।
मागेको विवरण उपलब्ध नगराउने वा अटेर गर्नेलाई आयोगले कारबाही पनि सिफारिस गर्न सक्छ । अवहेलना गरे पाँच सय रुपैयाँ जरिवाना गर्न सक्ने अधिकार पनि आयोगलाई छ ।



