नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश प्रस्ताव पारित

हिमाल प्रेस ३० पुष २०८२ १७:१२ | Wednesday, January 14, 2026
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौँ– नागरिक लगानी कोषको ३१ औँ वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ।

त्यसैगरी आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल भई पारित भएको छ। योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष घिमिरेले कोषको कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणहरूलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवर्धन गर्दै लैजाने योजना रहेको बताए। आगामी दिनमा कोषले बचत संकलनको दायरा विस्तार गर्दै जानेमा उनले जोड दिए।

कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागीहरूलाई प्रदान गर्दै आएको सहभागी कर्जालाई विस्तार गर्ने, सेयर धितो कर्जा प्रदान गर्ने, जोखिम विश्लेषण गरी उपयुक्त पूर्वाधारसम्बन्धी परियोजनामा लगानी बढाउँदै लैजानेमा उनले बताए।

साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञासाहरुको बारेमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जवाफ दिएका थिए। उनले कोषको वस्तुस्थितिबारे बताउँदै सेयरधनीहरूबाट उठाइएका जिज्ञासा तथा सुझावहरूलाई आगामी दिनमा पूरा गर्दे लाने प्रतिबद्धता व्यक्त गरे।

उनले कोषले गत वर्षदेखि नागरिक लगानी कोष ऐनले निर्दिष्ट गरेको समयावधिभित्रै साधारणसभा गर्न सफल भएको बताए।

प्रकाशित: ३० पुष २०८२ १७:१२ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast