नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन। तस्बिर : सामाजिक सन्जाल
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवार बनेका सचिन ढकालले पनि बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन बालेन शाह कोटा परेका थिए। विदेशमा अध्ययन पूरा गरेपछि उतै आकर्षक अवसरहरू हुँदाहुँदै पनि स्वदेशमै केही गर्ने दृढ संकल्पका साथ नेपाल फर्किएको ढकालले बताए। उनले आफ्ना पिता, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रेरणालाई स्मरण गर्दै भनेका छन्, ‘आफ्नै देशको माटो सिँचेर यहीँ सुन फलाउनुपर्छ र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सोचबाट म उद्यमशीलतामा लागेको हुँ।’
ढकाल नेपाली अर्थतन्त्र, खेलकुद र पर्यटन क्षेत्रमा सक्रिय युवा उद्यमी हुन्। युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न स्वदेशमै अवसरका ढोका खोलिनुपर्ने उनको धारणा छ।
‘कुनै व्यावसायिक घरानामा जन्मिनु अपराध होइन। मैले पारिवारिक पृष्ठभूमिसँगै आफ्नै शिक्षा, ज्ञान र क्षमतालाई व्यवहारमा उतार्ने प्रयास गरिरहेको छु,’ उनले उल्लेख गरेका छन्।
सचिन ढकाल हाल फुटबल क्लब ‘एफसी चितवन’का अध्यक्ष हुन् भने पर्यटन र हस्पिटालिटी क्षेत्रमा सक्रिय छन्। उनको व्यवस्थापनमा ‘इला’ ब्रान्डका होटलहरू सञ्चालनमा छन्।
रास्वपाको समानुपातिक सूचीमा उनको नाम काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कोटाबाट परेको थियो।



