गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर निर्वाचनमा जाने विश्वप्रकाश शर्माको घोषणा

हिमाल प्रेस ३ माघ २०८२ ६:४३ | Saturday, January 17, 2026
10
SHARES
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर निर्वाचनमा जाने विश्वप्रकाश शर्माको घोषणा

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर पार्टी चुनावी मैदानमा होमिने घोषणा गरेका छन् ।

निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएसँगै फेसबुक लाइभमार्फत आफ्नो धारणा राख्दै शर्माले यस्तो घोषणा गरेका हुन्।

उपसभापति शर्माले अब कांग्रेसले पुरानो शैली बदलेर निर्वाचन अगावै प्रधानमन्त्रीको उम्मेदवार तोकेर जनतामा जाने बताए। ’पार्टीभित्र र आम जनताको भावना गगन थापालाई नेतृत्वमा देख्ने छ,’ शर्माले भने, ’महासमितिबाट पारित दस्ताबेज र आम कार्यकर्ताको चाहना बमोजिम हामी गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेर चुनावमा जान्छौँ । यसले देशलाई स्पष्ट राजनीतिक मार्गचित्र दिनेछ ।’

आयोगको निर्णयले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि देशैभरका कांग्रेस कार्यकर्ताले दीपावली मनाउन सुरु गरेको उल्लेख गर्दै शर्माले यसलाई ’नवीन कांग्रेस’ निर्माणको उत्सवका रूपमा लिन आग्रह गरे । काँकडभिट्टा, कञ्चनपुर र चितवन लगायतका स्थानमा कार्यकर्ताले दीपावली मनाइरहेको खबर आएको भन्दै उनले भने, ’विधिको जित भएको यो घडीमा उज्यालो मनोविज्ञानका साथ दीपावली मनाउनुस्, तर यसलाई कसैको हार वा जीतका रूपमा नभई पार्टीको बृहत्तर एकताको रूपमा बुझ्नुपर्छ।’

प्रकाशित: ३ माघ २०८२ ६:४३ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast