‘निर्वाचनमा बैंकिङ प्रणाली विपरीत आर्थिक कारोबार गरे उम्मेदवारी रद्दसम्मका कारबाही हुन्छ’

हिमाल प्रेस १३ माघ २०८२ १७:३५
6
SHARES
‘निर्वाचनमा बैंकिङ प्रणाली विपरीत आर्थिक कारोबार गरे उम्मेदवारी रद्दसम्मका कारबाही हुन्छ’ कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त शगुनसम्सेर जवरा, आयुक्त डा.जानकी कुमारी तुलाधर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, सीएनआईलगायत विभिन्न व्यवसायीक संघसंगठनका प्रतिनिधिहरूबीच मंगलबार निर्वाचन आयोगमा भएको छलफल तथा अन्तरक्रिया। तस्बिर:रासस

काठमाडौँ- निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन्। बैंकिङ प्रणाली विपरीत कारोबार गरे उम्मेदवारी रद्दसम्मका कारबाही गर्न सकिने कानुनी व्यवस्था रहेको पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आज आयोजना गरेको निजी क्षेत्रका छाता संस्थासँगको अन्तर्क्रियामा उनले निर्वाचनका समयमा राजनीतिक दल र उम्मेदवारसँग नगद कारोबार नगर्न आग्रह गरेका हुन्।

उनले मुलुक बंगलादेशको जस्तो स्थितिमा गुज्रिनु नपरोस् भनी अनुशासनमा राख्न र लयमा फर्काउन सबै पक्षले निर्वाचनलाई सहयोग गरेको पनि बताए। गत भदौ २३ र २४ गतेको अवस्थाबाट देशलाई लयमा फर्काउन निर्वाचन नै उपयुक्त माध्यम हो भनी आयोग सुरुदेखि नै लागिपरेको बताउँदै उनले यसमा व्यवसायी र सञ्चारमाध्यमले पनि सहयोग गरेकामा धन्यवाद दिए।

सुशासन र स्थायी शान्ति भएन भने मुलुक अझै पर धकेलिने भएकाले पनि अहिले निर्वाचन नै पहिलो आवश्यकता भएको उनको भनाइ थियो। निर्वाचन बिथोल्ने शक्ति अहिले क्षीण भएर गएकाले फागुन २१ गते निर्वाचन हुने विषयलाई अब कसैले नकार्न नसक्ने भण्डारीले बताए।

निर्वाचन आचारसंहिताको सबैले पूर्ण पालना नगरेमा कानुन अनुसारका कारबाही प्रक्रिया अघि बढाइएको जानकारी पनि कार्यक्रममा उनले गराए। त्यस्तै, पर्यवेक्षणका नाममा विदेशीहरू पनि विभिन्न रूपमा आउने गरेकाले यसपटक पर्यवेक्षकको पनि पर्यवेक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निजी क्षेत्रका प्रतिनिधिलाई पनि यसमा सहयोग गर्न आह्वान गरे।

आयोगका सचिव कृष्णबहादुर राउतले निजी क्षेत्रले निर्वाचन आचारसंहिता पालनामा सहयोग गर्नुपर्ने बताउँदै सबैको सहकार्यमा आवधिक निर्वाचन गराएर लोकतन्त्रलाई स्थायित्व दिनुपर्ने बताए। निर्वाचनका क्रममा करिब रु ३१ अर्ब खर्च हुने जानकारी गराउँदै उनले त्यसबाट उद्योग, व्यवसायलगायत अर्थतन्त्र चलायमान हुने उल्लेख गरे।

प्रकाशित: १३ माघ २०८२ १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast