केही व्यक्तिको निर्णयबाट पार्टी चल्दा एमाले जनताको बीचमा साँघुरिने अवस्था आयो : सुरेन्द्र पाण्डे

हिमाल प्रेस २२ मंसिर २०८२ १५:१४
16
SHARES
केही व्यक्तिको निर्णयबाट पार्टी चल्दा एमाले जनताको बीचमा साँघुरिने अवस्था आयो : सुरेन्द्र पाण्डे नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिमा पुर्‍याउँदा जनताको बीचमा साँघुरिने अवस्था देखापरेको बताएका छन्।

पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा सोमबार काठमाडौँमा आयोजित अन्तर्क्रियामा पाण्डेले लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएकाका कारण एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइसोलेसनमा जाने अवस्था देखापरेको बताएका हुन्।

उनले पार्टीको वर्तमान परिस्थितिलाई बदल्न सक्नुपर्नेमा जोड दिए। उनले पार्टीमा एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने गरी कानुनी व्यवस्था नै गर्नुपर्ने धारणा राखे।

महाधिवेशनका क्रममा पार्टीभित्रको कमीकमजोरीमाथि समीक्षा गर्दै नेतृत्व फेर्न लोकतान्त्रिक विधिलाई प्रयोग गर्ने उनले बताए। पाण्डेले एमालेको ईश्वर पोखरेल समूहभित्र कुनै वादविवाद नरहेकाले सहज ढंगले उपयुक्त समयमा पोखरेल समूहको पदाधिकारीको टुंगो लगाउने दाबी गरे।

त्यस्तै एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीलाई सामूहिकतामा अघि बढाउन ईश्वर पोखरेलको नेतृत्वमा अघि बढेको भन्दै पार्टीभित्रको अवस्थामा बारेमा वस्तुगत जानकारी रहेको बताए। उनले पार्टीको नेतृत्वका लागि अघि बढ्दा देखापर्ने सबै चुनौती सामना गर्न तयार रहेको उल्लेख गरे। पार्टी अध्यक्ष केपी ओलीलाई बद्नाम गर्ने कोसिस भए प्रतिवाद गर्ने भन्दै उनले महाधिवेशनमा नेतृत्व चयन गर्ने आफूहरूको लोकतान्त्रिक अधिकार भएको जिकिर गरे।

ज्ञवालीले महाविधेशनमा आफ्नो पक्षको जित सुनिश्चित भएको दाबी गरे। उनले आफूहरू एमाले छाडेर कतै नजाने भन्दै अरू दलका नेताहरूलाई समेत एमालेमा आउन आह्वान गरे।

प्रकाशित: २२ मंसिर २०८२ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast