त्रिविको दीक्षान्त समारोह प्रदेशस्तरमा गरिने, विद्यार्थी संख्या बढ्दा व्यवस्थापनमा चुनौती

हिमाल प्रेस ६ पुष २०८२ १५:३५ | Sunday, December 21, 2025
14
SHARES
त्रिविको दीक्षान्त समारोह प्रदेशस्तरमा गरिने, विद्यार्थी संख्या बढ्दा व्यवस्थापनमा चुनौती त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि दीक्षान्त समारोह प्रदेशगत रूपमा आयोजना गर्ने निर्णय गरेको छ। दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको संख्या निरन्तर बढ्दै जाँदा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि विश्वविद्यालयले यस्तो निर्णय लिएको हो।

कीर्तिपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति दिपक अर्यालले आगामी वर्षदेखि पोखरामा पनि दीक्षान्त समारोह आयोजना गर्ने निर्णय भइसकेको जानकारी दिए।

विगतमा संकायगत रूपमा दीक्षान्त समारोह गर्ने घोषणा गरिए पनि आवश्यक अध्ययन र तयारी अभावका कारण आगामी वर्ष प्रदेशगत रूपमा समारोह आयोजना गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

यसवर्ष त्रिविबाट स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन पूरा गरेका ८९ हजार १ सय ९१ विद्यार्थीमध्ये पुस १० गते दशरथ रंगशालामा आयोजना हुने ५१औँ दीक्षान्त समारोहमा १६ हजार ३ सय ८० विद्यार्थी सहभागी हुनेछन्।

सो समारोहमा अभिभावकसहित करिब ४२ हजार जनाको उपस्थिति रहने रजिष्ट्रार केदारप्रसाद रिजालले जानकारी दिए। दीक्षान्त समारोहमा २५ वटा दीक्षान्त पदक तथा पुरस्कार वितरण गरिनेछ। समारोहलाई जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता ताकाआकी काजिताले सम्बोधन गर्ने सम्मेलनमा जानकारी दिइयो।

उपकुलपति अर्यालले अन्तर्राष्ट्रिय विश्वविद्यालय स्तरमापनमा त्रिभुवन विश्वविद्यालय करिब १३ सयको वरिपरि रहेको जानकारी दिँदै आगामी दिनमा उच्च शिक्षामा देखिएका चुनौतीहरूको सामना गर्दै गुणस्तरीय, अनुसन्धानमुखी र नवप्रवर्तनात्मक शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ६ पुष २०८२ १५:३५ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast