‘पीआर’ मार्फत अभिनयमा सुरजको डेब्यु, भन्छन्, ‘फिल्मकाे कथा आफ्नाे जस्तै लाग्याे’

हिमाल प्रेस २१ मंसिर २०८२ १४:५३
20
SHARES
‘पीआर’ मार्फत अभिनयमा सुरजको डेब्यु, भन्छन्, ‘फिल्मकाे कथा आफ्नाे जस्तै लाग्याे’

काठमाडौँ- अस्ट्रेलियामा अध्ययन र मोडलिङ गर्दै आएका आर.ए. सुरज पाैडेलले फिल्म ‘पीआर’ मार्फत नेपाली फिल्ममा डेब्यु गरेका छन्। फिल्म यही २६ मंसिरबाट हलमा लाग्दैछ। फिल्मले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्ने मनोवैज्ञानिक, आर्थिक र सामाजिक दबाबको कथा प्रस्तुत गरेको छ।

फिल्म प्रचारका लागि सुरज यतिबेला नेपालमा छन्। अस्ट्रेलियामा फिल्मको अडिसन भइरहेको थाहा पाएपछि आफू अडिसन दिन गएको र छनोटमा परेको उनले सुनाए। उनले निर्देशक शोभितकै छोरीबाट अडिसन भइरहेको थाहा पाएर आफू गएको पनि खुलाए।

‘अस्ट्रेलियामा शोभित बस्नेत सरले फिल्मकाे अडिसन लिइरहनुभएको थियो। उहाँकी छोरी सलिनाले मलाई म्यासेज गरेर अडिसन भइरहेको बताइन् र सहभागी हुन सुझाव दिइन्,’ उनले भने, ‘अभिनय गर्ने मन त पहिलेदेखि नै थियो, त्यसैले अडिसन दिएँ र चयन भएँ।’

वान-लाइन अडिसन दिएपछि निर्देशक बस्नेतले उनलाई स्क्रिप्ट पढ्न दिए। आफूले स्क्रिप्ट पढेपछि कथामा आफैँ पाएकोले काम गर्ने इच्छा जागेको उनले सुनाए। उनले भने, ‘कथाको ९९ प्रतिशत भाग मेरो आफ्नै जीवनजस्तै रहेछ। अस्ट्रेलियामा सुरुवाती दिनमा युवाले भोग्ने चुनौतीहरू नै कथामा भेटेँ।’

उनी फिल्मले समाजमा सन्देश दिने गहिरो कन्टेन्ट रहेको उनको बुझाई छ। ‘अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविकता कथामा छर्लङ्ग देखिन्छ। यो विषय बोलि नै पर्ने लागेर फिल्ममा जोडिने निर्णय गरेँ,’ फिल्ममा जोडिनुको कारण खुलाउँदै उनले भने।

डेब्यु फिल्म भए पनि निर्देशक बस्नेतसँग काम गर्न धेरै सहज भएको उनको अनुभव छ। उनले फिल्ममा जोडिनुअघि नै अभिनयसम्बन्धी वर्कसप, कक्षा पनि लिइरहेको बताए। आफूले पहिले नै आधारभूत कुरा सिकिसकेकाले फिल्ममा अभिनय गर्न केही हदसम्म सहज भएको उनले सुनाए।

दर्शक र फिल्मकर्मीले चाहानुभयो भने आफू अभिनयमा निरन्तरता दिने उनको सोच छ। ‘अस्ट्रेलियामा भए पनि काम आयो भने नेपाल आउन मलाई समस्या हुँदैन। ‘पीआर’ कै लागि पनि म नेपाल आएर काम गरेर फर्किएको हुँ,’ उनले भने, ‘मेराे अभिनयलाई रुचाउनुभयो भने अभिनय यात्रा निरन्तर अगाडि बढ्नेछ।’

प्रकाशित: २१ मंसिर २०८२ १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast