सेफको टोपी उतारेर अभिनयमा संघर्षरत सुनील

सुस्मिता बजगाईं ७ पुष २०८२ १४:२०
72
SHARES
सेफको टोपी उतारेर अभिनयमा संघर्षरत सुनील

काठमाडौँ- भनिन्छ, मानिसले डोर्‍याउने जिन्दगी र समयले डोर्‍याउने जिन्दगीमा निकै फरक हुन्छ। कहिलेकाहीँ हामी एउटा बाटो हिँडिरहेका हुन्छौँ, तर एकै जम्काभेटले हाम्रो गन्तव्य अर्कै मोडमा पुर्‍याइदिन्छ। यस्तै संयोग बन्यो सुनील तामाङको जीवनमा पनि।

सुनील हरेक दिनजस्तै होटलकै काममा व्यस्त थिए। त्यसै क्रममा भेट भएको हो, अक्षयसँग। त्यही भेटले त हो होटलका टेबलहरू पुछ्ने हातले अभिनयका ‘स्क्रिप्ट’ समात्न थालेको।

सुनील पछिल्लो पुस्ताका उदाउँदा कलाकार हुन्। उनी नाटक, फिल्म र विज्ञापनमा आफ्नो अभिनय कौशल देखाइरहेका छन्।

दोलखाका सुनील ३७ वर्षअघि भारत हिमाचलमा जन्मिएका हुन्। कामको क्रममा  उनका सबै परिवार भारतमै बस्थे। उनी उतै हुर्किए। भारतबाटै औपचारिक शिक्षा लिए।

मध्यमवर्गीय परिवारमा जन्मिएका सुनीलले किशोर अवस्थामै पढाइ छाडेर काम रोजे। १३ वर्षको उमेरदेखि होटलमा काम गरेका उनले भाँडा माझ्नेदेखि टेबल पुछ्ने सबै गर्नुपर्थ्यो। करिब १२ वर्षजति काम गर्दा उनी वेटर हुँदै सेफसम्म बनिसकेका थिए।

होटलमै काम गरिरहँदा हिमाचलकै अक्षयसँग भेटिएका हुन् सुनील। अक्षय म्युजिक भिडियोदेखि स्थानीयस्तरका फिल्ममा अभिनय गर्थे। साथै मार्सल आर्टिस्ट पनि थिए।

कलाकार बन्ने नसोचे पनि फिल्म हेर्न औधी मन पराउने सुनीललाई एक्सन जनरा बढी मन पर्थ्यो रे। उनको परिवार पनि मार्सल आर्ट पृष्ठभूमिको भएकाले उनले त्यसको कोर्स पनि गरेका थिए।

होटलमा काम गर्दै सुनील र अक्षयले मार्सल आर्टसम्बन्धी थप चारवर्षे कोर्स पनि गरे। त्यहीबेला सुनीललाई अक्षयले कलाकारितामा जोडिन हौसला दिन्थे। ‘अक्षयले मार्सल आर्टसँगै डान्सतिर पनि राम्रो भयो भने अभिनय सिक्न र काम पाउन पनि सहज हुन्छ भन्दै हौस्याउँथ्यो,’ उनले भने।

अक्षयकै सल्लाहमा सुनीलले केही म्युजिक भिडियोको कोरसतिर पनि काम गरे। ‘पहिले त के हो भन्ने त्यति बुझेको थिइनँ, पछि अभिनय भन्ने कुरा बुझ्दै गएँ,’ उनले भने। अभिनयतिर रुचि बढेपछि उनले अभिनय कक्षाबारे बुझ्न थाले। मुम्बईमै अभिनय सिक्ने शुल्कबारे बुझे। महँगो लागेपछि उनी पन्छिए।

‘२०७०/७१ सालतिर जस्तो लाग्छ नेपालमा अभिनय प्रतियोगिता चलिरहेको थियो। कुनै वेबसाइटमा रंगकर्मी अनुप बरालले नाटक सिकाउनु हुने रहेछ भन्ने थाहा पाएँ,’ उनी सम्झिन्छन्, ‘उहाँको नम्बर फेला पारेर ह्वाट्सएपमा अभिनय सिक्ने विषयमा म्यासेज गरेँ, प्रतिक्रिया भने आएन।’

पछि उनले काठमाडौँ आएर अभिनय सिक्ने सोच बनाए। गुगलमा ‘बेस्ट एक्टिङ स्कुलिङ इन काठमाडौँ’ भनेर सर्च गरे, अनि फेला पर्‍यो मण्डला थिएटर। २०७३ सालको अन्तिमतिर उनले मण्डला थिएटरको फेसबुक पेजमा म्यासेज गरे। ‘मण्डलाबाट प्रतिक्रिया आयो। कक्षा शुल्क बुझेँ। तिर्न सक्ने रहेछु भन्ने लागेपछि २०७४ सालमा नेपाल फर्किएँ,’ विगत सम्झिँदै उनले भने।

अडिसनबाट छनोट भएपछि उनी मण्डलाकै छैटौं ब्याचको रूपमा अभिनय कक्षामा जोडिए। नाटक सिक्न थालेपछि ब्याच प्रोडक्सनको नाटक ‘क्लब सेभेन’ मा काम गरे। त्यो नै उनको पहिलो नाटक थियो।

त्यसबेला उनले अभिनयलाई निकै गाह्रो विधाको रूपमा बुझे। ‘पहिलो नाटक गर्दा आँट कम आउने रहेछ। काम गर्न सकिँदैन कि भन्ने भावले मन दोधार हुन्थ्यो,’ उनी भन्छन्, ‘५–६ वटा नाटक गर्दासम्म मुटु ढुकढुक हुन्थ्यो, त्यतिखेरसम्म कोरसतिर नै काम पाउँथे। पछि स्टेजमा काम गर्न थालेपछि हिम्मत बढ्दै गयो।’

मण्डलामै रहेर ब्याकस्टेजदेखि फ्रन्टस्टेजमा अहिलेसम्म डेढ दर्जनजति नाटकमा अभिनय गरिसकेको उनी बताउँछन्। पछिल्लो समय उनले नाटक ‘मासिन्या’ मा अभिनय गरेका थिए। उनी अभिनीत नाटकमा ‘चोरको स्वर’, ‘ज्ञानको चिहान’, ‘द फ्लाइट’, ‘घरको माया’, ‘मीतज्यू’, ‘सोनम ग्याल्मो’लगायत पर्छन्।

‘चोरको स्वर’ मा गरेको अभिनयले अन्य नाटकमा राम्रो भूमिका पाएको उनी बताउँछन्। उक्त नाटकमा सुनीलले एक वृद्ध अनि जँड्याहा लिम्बूपात्रको भूमिका निभाएका थिए। ‘आर्टमाण्डुको प्रोडक्सनमा बनेको उक्त नाटकमा जँड्याहा वृद्धको भूमिका निभाउँदा धेरैले मलाई नोटिस गर्नुभएछ,’ मुहारमा खुसीको अनुभूति गर्दै उनले सुुनाए।

नाटकमा अभिनयको सुरुवाती चरणमै उनले ‘सरकारी जागिर’ नामक फिल्ममा काम पाएका थिए। नाटक हेर्न आएका एक निर्माताले उनको अभिनय रुचाएर उक्त भूमिका दिएका थिए । दुर्भाग्य! त्यो फिल्म प्रदर्शन हुन सकेन। दोस्रो फिल्मको रूपमा उनले ‘हात्तीछाप’ मा काम पाए।

कुनै फिल्ममा अडिसन खुलेको थाहा पाएसम्म उनी पुग्थे र छनोटमा पर्थे। अहिलेसम्म पाएको चरित्र प्राय: अडिसनबाटै आफू छानिएको उनी सुनाउँछन्। अडिसनबाटै उनले फिचर फिल्मदेखि फेस्टिभल लक्षित फिल्ममा काम गर्ने अवसर पाइरहेका छन्।

सुनीलले ‘विमान’, ‘तीनतारा’, ‘वरिष्ठ बलराम’, ‘वाइल्ड फ्लावर ओमन’, ‘ज्वाइँ साब’ ‘मनसरा’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘आँखा’, ‘हिमालयन गोल्ड’, ‘मालती मंगले’, ‘भाइरल गोर्खे’ लगायत करिब दुई दर्जन फिल्ममा अभिनय गरिसकेका छन्। ‘हिमालयन गोल्ड’, ‘मालती मंगले’, ‘भाइरल गोर्खे’ प्रदर्शनको तयारीमा छ। यसका साथै उनले अडिसनबाट छनोट भएर हलिउड फिल्म ‘एभ्रिथिङनेस’ मा पनि काम गर्ने मौका पाएका थिए।

गत कात्तिकमा प्रदर्शन भएको फिल्म ‘वरिष्ठ बलराम’ मा उनी पुन्टे चरित्रमा देखिएका थिए। उनी मुख्य कलाकार विजय बरालको साथीको भूमिकामा थिए, जसमा उनी सरल र बफादार पात्रको भूमिकामा देखिएका थिए।

सुनील अभिनीत अर्को फिल्म ‘भाइरल गोर्खे’ आगामी माघ १ मा प्रदर्शन हुँदैछ। फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल छन्। उनकै सहयोगी पात्रको भूमिका उनले निभाएका छन्।

उक्त फिल्मबाट आशावादी रहेको सुनील बताउँछन्। उनी भन्छन्, ‘भाइरल गोर्खेमा मेरो चरित्र कमेडी शैलीमा छ। यसबाट आगामी यात्रामा केही सहयोग गर्नेछ भन्ने आशा गरेको छु।’

सुनील नाटक र फिल्मसँगै विज्ञापनतिर पनि छाएका छन्। उनले विभिन्न कम्पनीका विज्ञापनहरूमा काम गरेका छन्।

काम गर्ने क्रममा उनलाई बोलीमा आउने हिन्दी र दार्जिलिङ भाषीको लवजले समस्यामा पनि परेको उनी सुनाउँछन्। ‘भारतमै जन्मे हुर्केकाले मैले हिन्दी वर्णमाला पढेको थिएँ। बोलीमा हिन्दी लवज आउँथ्यो। मान्छेहरूले इन्डियन भनेर खुबै हेप्थे,’ उनी भन्छन्, ‘आफ्नो बोलीमा नेपाली टोन ल्याउन युट्युबमा बच्चाले पढ्ने १२ खरी सुन्थेँ र आफूमा केही परिवर्तन गरेँ।’ एकपछि अर्को कामले नै आफूलाई परिस्कृत गर्न सफल भएको उनी बताउँछन्।

छोटो भूमिका भए पनि एक दशकको दौरानमा उनले दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन्। सेफ पेसा छोडेर कलाकारितामा होमिएका सुनील आफ्नो जीवन अभिनयमै बिताउने बताउँछन्। ‘आफूले गरिरहेको काम छाडेर यता लागेँ। अब त कुनै अप्सन पनि छैन नि,’ उनले भने, ‘भोलि होला/नहोला तर आफूलाई मानसिकरूपमा कहिल्यै कमजोर बनाउँदिनँ। कर्म गर्दैछु, भाग्यले साथ दिए अवश्य पनि केही होला भन्ने आशा छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast