प्रवासी नेपालीलाई मतदानको व्यवस्था गर्न राप्रपाको माग

हिमाल प्रेस २६ मंसिर २०८२ १८:२३
10
SHARES
प्रवासी नेपालीलाई मतदानको व्यवस्था गर्न राप्रपाको माग

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा प्रवासी नेपालीलाई मतदानको व्यवस्थासहित अन्तर जिल्ला मतदानको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन्।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू शुक्रबार सार्वजनिक गर्दै उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन सम्भव रहेकाले सोही व्यवस्थासहित निर्वाचन प्रक्रिया अघि बढाउन सरकारसँग माग गरे।

‘विदेशमा रहेका नेपालीलाई विदेशबाटै र स्वदेशमै पनि अन्तर जिल्ला मतदानको व्यवस्था गर्न सम्भव छ। त्यसको सुनिश्चितता गरेरमात्र निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्छ,’ अध्यक्ष लिङ्देनले भने।

राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिका लागि सरकारसँग माग गर्ने केन्द्रीय कार्यसमितिले निर्णय गरेको उनले जानकारी दिए।

अध्यक्ष लिङ्देनका अनुसार राप्रपाले आगामी पुसमा जनसंवाद र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

राप्रपाले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनस्र्थापित हुनुपर्ने स्पष्ट पारेको छ।

केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापना जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट नभइ राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले बताए।

राप्रपाले आमनिर्वाचन अगावै परम्परागत शक्तिको प्रतिनिधि राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको बाटोबाट राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा पुनः जोड दिँदै तत्काल सार्थक पहल र संवादका लागि सम्बद्ध सबै राजनीतिक दल र वर्तमान सरकारलाई आह्वान गरेको छ।

त्यस्तै बैठकले देशमा निरन्तर रूपमा विकसित निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी, संवैधानिक अङ्गहरूमाथिको दलीयकरण, सत्ता लिप्सा, सत्ता केन्द्रित वैदेशिक सम्बन्धको दुष्परिणाम जेनजी आन्दोलन भएको निष्कर्ष निकालेको छ भने अहिलेकै व्यवस्थामा राजनीतिक समस्याको समाधान नगरीकन मुलुकलाई जबरजस्त अगाडि बढाउने कोसिसले मुलुक थप द्वन्द्वमा धकेलिने अध्यक्ष लिङ्देनले बताए।

बैठकले राप्रपाले अघि सारेको एजेण्डामा जनदबाब सिर्जना गर्नका लागि पुस महिनामा देशभर जनसंवाद तथा जनप्रदर्शनका कार्यक्रमहरूको आयोजना गर्ने निर्णय गरेको छ।

यस्तै, राप्रपाकातर्फबाट मधेस प्रदेशसभाका सदस्य कञ्चन बिच्छालाई सांसद पदबाट फिर्ता बोलाउने निर्णयलाई बैठकले अनुमोदन गरेको उनले जानकारी दिए।

प्रकाशित: २६ मंसिर २०८२ १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast