जनकपुरधाम- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले वर्तमान राजनीतिक परिस्थितिमा मानवअधिकारको रक्षा गर्नु चुनौतीपूर्ण कार्य रहेको बताएका छन्।
बुधबार नेपाल बार एसोसिएनले जनकपुरधाममा आयोजना गरेको ५१ औँ कार्यकारिणी परिषद् बैठक तथा मानवअधिकारसिम्बन्धी राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानन्याायधीश राउतले मानवअधिकारको रक्षा गर्नु चुनौतीपूर्ण कार्य भए तापनि मानवअधिकारविना सुशासन तथा न्यायको कुरा गर्न नसकिने जिकिर गरे।
मानवअधिकार र न्याय एकअर्कासँग जोडिएको विषय भएकाले न्यायविनाको मानवअधिकारको कल्पना गर्न नसकिने उनको भनाइ छ। राउतले विधिको शासनलाई जीवन्त राख्नका लागि मानवअधिकारको रक्षा जरुरी रहेको उल्लेख गरे।
मानवअधिकारको रक्षाका लागि अदालत तथा न्याय क्षेत्रमा निष्पक्षता, स्वच्छता र पादर्शीता आवश्यक भएको उनले उल्लेख गरे।
प्रधानन्यायाधीश राउतले मानवअधिकारको विषयमा राजनीति प्रवेश गरे विषाक्त हुने बताए। मानवअधिकारको विषय संवेदनशील बन्दै गएको बताउँदै उनले यसलाई राजनीतिबाट अगल राख्नुपर्ने जिकिर गरे।
उनले जेनजी प्रदर्शनका क्रममा सर्वोच्च तथा अन्य अदालतका गरेर ९ लाख मिसिल जलाइएकाले यसले न्याय क्षेत्रमा ठूलो अघात पुगेको बताए।
कार्यक्रममा महान्यायाधिवक्ता सविता बरालले मानवअधिकार सुनिश्चितता भएको खण्डमा मुलुकमा सुशासन स्थापित हुने बताइन्।
नेपाल बार एशोसिएसनका अध्यक्ष प्राध्यापक डा. विजयप्रसाद मिश्रले सुशासन तथा विधिको शासनविना मानवअधिकारको कल्पना गर्न नसकिने बताए। जेनजी पुस्ताको भावनालाई वैधानिकीकरण गर्न संविधान संशोधन जरुरी रहेको उनको भनाइ छ।
नेपाल बार एशोसिएसन जनकपुर शाखाको आतिथ्यमा भएको कार्यकारिणी परिषद् बैठकमा निर्वतमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शम्भु थापालगायतका वक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए।
बिहीबारसम्म चल्ने परिषद् बैठकमा ७७ जिल्लाका परिषद् सदस्यहरू, जिल्ला अध्यक्ष तथा सचिवगरी करिब पाँच सय कानुन व्यवसायीको सहभागिता रहेको छ। बिहीबार जनकपुर घोषणापत्र जारी गरेर बैठक सम्पन्न हुनेछ।



