काठमाडौँ- पछिल्लो समय प्रदर्शन भएका नेपाली फिल्मलाई दर्शकले साथ दिइरहेका छन्। केही वर्ष अघिसम्म चाडपर्वमा नेपालीभन्दा विदेशी फिल्मको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली फिल्म नै परेको पाइएको छ।
नेपाली कला र संस्कृतिसँगै सामाजिक कथामा बनेका फिल्मले दर्शकले घरेलु बजारमा राम्रो व्यापार गरेको छ। चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपाली फिल्म हेर्ने दर्शक बढिरहेका छन्। हलमा प्रदर्शनरत ‘परान’, ‘जेरी अन टप’, ‘जारी २’, ‘मन विनाको धन’ लगायतका फिल्ममा दर्शकको चाप उस्तै छ।
यही मंसिर १८ देखि प्रदर्शन भएको फिल्म ‘अभिमन्युः च्याप्टर १’ मा पनि दर्शकको आकर्षण बढेको टिमले जनाएकाे छ। फिल्ममा नेपाली समाज, परिवेश, संघर्ष र प्राकृतिक सौन्दयलगायतका विषय समेटिएको छ।
गत कात्तिक १४ देखि प्रदर्शनरत फिल्म ‘परान’ ले घरेलु बजारमा १६ करोडभन्दा बढीको व्यापार गरिसकेको छ। पारिवारिक कथामा बनेको फिल्मले स-परिवारलाई हलसम्म ल्याउन सफल भएको निर्देशक दीपकप्रसाद आचार्यले बताए।
‘हाम्रो फिल्मलाई दर्शकले आफैँले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौँ। बुबाछोराको कथालाई धेरै दर्शकले आफ्नो कथा रहेको प्रतिक्रिया दिनुभएको छ। मैले मेरो परिवारको कथालाई फिल्ममा ढालेर तयार गरेको हुँ। यो कथा अहिले प्रायः घर समाजसँग जोडिन्छ भन्नेमा विश्वस्त थिएँ’, निर्देशक आचार्यले भने।
नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता वरिष्ठ अभिनेताले अभिनय गरेको यो फिल्ममा बुबाछोराको कथा देखाइएको छ। फिल्ममा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन।
त्यस्तै, चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएको नेपाली फिल्ममा दर्शकको उपस्थिति बलियो देखिएको छ। यसले विदेशीको तुलनामा नेपाली फिल्मप्रतिको आकर्षण बढेको देखिँदैछ। घरेलु बजारमा नेपाली फिल्मले गरिरहेको कमाईले समग्र फिल्म क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठले बताए।
‘घरेलु बजारमा नेपाली फिल्मले गरिरहेको रिपोर्ट हेर्ने हो भने हलमा सबै नेपाली फिल्ममा दर्शकको उपस्थिति देखिएको छ। यसले दर्शकले नेपाली फिल्म हेर्ने चाहेको स्पष्ट सन्देश दिएको छ। अब विदेशी नभई स्वदेशी फिल्म नै कमाईका हिसाबले अगाडि आउँछन्। यो तथ्य स्थापित हुँदैछ,’ वितरक श्रेष्ठले भने। उनले दर्शकको विश्वास जित्ने फिल्म आगामी दिनमा पनि तयार गर्न निर्माता तथा निर्देशकलाई आग्रह गरे।
निर्देशक पुर्नेन्दु झाले पनि पछिल्लो समय नेपाली फिल्म हेर्ने प्रचलन बढेको महसुस गरेको बताए। आफूले विशेष प्रदर्शनी वा हलमा प्रदर्शन भएका प्रायः फिल्म हेर्ने गरेको उनले जानकारी दिनुभयो ।
म फिल्म निर्देशक भएकाले पनि प्रदर्शन भएका प्रायः फिल्म हेर्छु। धेरै फिल्म दर्शकसँगै बसेर सार्वजनिक प्रदर्शनमा हेर्छु। पहिलेको तुलनामा दर्शक बढेका छन्। साथै दर्शक सन्तुष्ट पनि छन्। यही क्रम बढ्ने हो भने नेपाली फिल्मले विदेशीलाई विस्तारै विस्थापित गर्छ’, निर्देशक झाले भने।
उनले नेपाली फिल्म हेर्ने दर्शक बढ्नु, व्यावसायिक घराना आकर्षित हुने समग्र फिल्म क्षेत्रकै लागि सुखद हुने विश्वास व्यक्त गरे। केही वर्ष अघिसम्म दसैँ, तिहार, नयाँ वर्ष लगायतका बिदामा विदेशीकै वर्चश्व देखिन्थ्यो, तर पछिल्लो समय भने नेपाली फिल्मले विदेशीलाई विस्थापित गरिरहेको छ।’ रासस



