काठमाडौँ- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पाटी (लोसपा), हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) र वृषेशचन्द्र लाल नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकता हुने भएको छ।
बुधबार तीन दलका शीर्ष नेताबीच भएको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो।
बैठकपछि तीन नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा एकता आवश्यक भएको मनन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी एकजुट भई एकीकृत हुने निर्णय भएको जनाइएको छ।
‘…संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध सीमान्तीकरणमा पारिएकाहरूको वृहत राजनीतिक शक्तिको निर्माण र एकता आवश्यक भएको मनन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी एकजुट भई एकीकृत हुने निर्णय गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ।
तीनवटै पार्टीको वार्ता समितिले छलफल गरेर पार्टी एकताको मोडालिटी तयार पार्ने एक नेताले जानकारी दिए। ‘तीनै पार्टीबीच आज एकीकरण निर्णय भएको छ। तीनवटै पार्टीको वार्ता समितिले छलफल गरेर चाँडै एकताको मोडालिटी तय गर्नेछ,’ उनले भने।
ती नेताका अनुसार तीनै पार्टीबीच एकता गर्ने निर्णय भए पनि एकताको घोषणा गर्ने मिति तय गर्न बाँकी रहेको छ।
बुधबार एकीकरण गर्ने निर्णय गरेको तमलोपा यसअघि ठाकुर नेतृत्वको लोसपाबाट फुटेर बनेको थियो। २०७८ फागुनमा लोसपाबाट फुटेर तमलोपाको घोषण भएको थियो।
त्यस्तै त्रिपाठीले २०७८ मंसिरमा आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गरेका थिए। महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट अलग भएर उनले आफ्नै नेतृत्वमा पार्टी गठन गरेका थिए।
प्रतिनिधिसभा निर्वाचनको समय नजिकिँदै जाँदा मधेश केन्द्रित दलहरू एकीकरणतर्फ अगाडि बढेका हुन्। यसअघि ठाकुर नेतृत्वको लोसपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबीच एकताका लागि छलफल अगाडि बढेको थियो। तर, कार्यकारी पद सम्हाल्ने विषयमा सहमति जुट्न नसकेपछि दुवै दलबीच एकीकरणको विषय तत्कालका लागि रोकिएको बताइएको छ।
त्यस्तै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र रेशम चौधरी नेतृत्वको नगारिक उन्मुक्ति पार्टी नेपालले कार्यगत एकता गर्ने निर्णय गरेको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा तीनै दलबीच एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।




