काठमाडौँ- सुनसरीस्थित बराहक्षेत्र नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीको माग नगरपालिकाले पूरा गर्ने प्रतिबद्धता जनाएको छ।
पालिकाको प्रतिबद्धतापछि आइतबार शिक्षक र कर्मचारीले धर्ना स्थगित गरेका छन्। पालिकाले दुई हजार रुपैयाँ तलब कटौती गरेपछि शिक्षक र कर्मचारी धर्नामा थिए।
बराहक्षेत्र नगरपालिकाका शिक्षा शाखा अधिकृत उत्तमराज भारतीले शिक्षक कर्मचारीको माग आगामी पुसमा बस्ने पालिकाको हिउँदे अधिवेशनले पूरा गर्ने गरी सहमति भएको र धर्ना स्थगित भएको सोमबार हिमालप्रेसलाई जानकारी दिए। ‘आगामी नगरसभाबाट उहाँहरूका माग सम्बोधन गर्छौं। उहाँहरूसँग छलफल भइसकेको छ। उहाँहरूको कार्यक्रम पनि स्थगित भइसकेको छ,’ भारतीले भने।
नेपाल प्रारम्भिक बालविकास शिक्षक बराह नगर कार्यसमिति अध्यक्ष मेनुका कार्की र नेपाल विद्यालय कर्मचारी परिषद् बराह नगर कार्यसमिति अध्यक्ष रवीन्द्र कार्की नेतृत्वमा संयुक्त रूपमा धर्ना दिइएको थियो।
नगरपालिकाले प्रदान गर्दै आएको मासिक रु.८ हजार तलबमध्ये चालु आर्थिक वर्षदेखि रु.२ हजार कटौती गरिएकोप्रति उनीहरूको गम्भीर आपत्ति थियो।
संघर्ष समितिले पटकपटक नगर प्रमुख रमेश कार्कीसमक्ष अनुरोध गर्दा पनि माग सुनुवाइ नभएपछि उनीहरू २८ गते आइतबार धर्ना बसेका थिए।
अध्यक्ष कार्कीले माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने जानकारी दिइन्। उनले भनिन्, ‘खाइपाई आएको तलब काटिनु हुँदैन। यदि नगरले त्यस्तो गर्छ भने सशक्त आन्दोलनमा उत्रन्छौं।’




