थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘बहादुरपुरको दन्त्यकथा’ मञ्चन भइरहेको छ। नाटक नाट्यकर्मी सरस्वती चौधरीले निर्देशन गरेकी हुन्। उनी प्रवीण खतिवडा, कमलमणि नेपाल, सरिता गिरी, घनश्याम जोशी, रामभजन कामत, दीपल बराल, आदित्य मिश्रा, चन्द्र नेपालीजस्ता अहिलेका व्यस्त कलाकारलाई लिएर निर्देशनमा आएकी हुन्। नाटकको एक पात्र उनी आफैँ छिन्।
बर्दियाकी चौधरीले गुरुकुलमा रहेर ‘बाघभैरव’, ‘एल्ममुनिको तिर्खा’, ‘खरीको घेरो’, ‘ताराबाजी लैलै’ लगायत नाटकमा अभिनय गरेकी छन्। साथै विभिन्न जिल्लामा महिलाका मुद्दामा आधारित रहेर कचहरी नाटकमा उनको विशेष भूमिका छ। उनै रंगकर्मी तथा निर्देशक सरस्वतीको नाट्ययात्रा र नाटक ‘बहादुरपुरको दन्त्यकथा’ बारे सुस्मिता बजगाईंसँग गरिएको कुराकानी :
लामो समयपछि नाटकमा फर्किनुभयो त्यो पनि निर्देशनमा डेब्यु, कस्तो अनुभव भइरहेको छ?
ठूलो स्टेजमा मेरो निर्देशन पहिलो हो। तर यसअघि विद्यालय र कलेजको प्रोडक्सनको नाटक निर्देशन गरिसकेको छु। साथै विभिन्न जिल्लामा मैले ‘मालिनी’लगायत कचहरी नाटक निर्देशन गरिसकेको छु। मण्डलासँग जोडिएर नाटक निर्देशन गर्ने मौका पाएकी छु। खुसी लागिरहेको छ।
पहिलो निर्देशनको अनुभव कस्तो रह्यो?
आफू सानो चरित्रमा काम गर्दै आइरहेकी थिएँ, एकैपटक निर्देशनको पाटो सम्हाल्न सहज त कहाँ हुन्छ र? अर्को कुरा आफूले सोचको जस्तो पात्र नपाउँदा नाटकको पात्र छनोट गर्न गाह्रो भएको थियो। कलाकारको समय मिलाउनदेखि प्रोडक्सनसम्म कठिन भएको थियो। अहिले त्यो असहजता रमाइलोमा परिणत भएको छ।
‘बहादुरपुरको दन्त्यकथा’ कस्तो नाटक हो?
यो निकै पुरानो बंगाली नाटक हो। भारतीय नाटककार बादल सरकारले लेखेको नाटक ‘बल्ल्भपुरेर रुपकोथा’ को नेपालीकरण। नाटकलाई विजय विस्फोटले भावानुवाद गर्नुभएको छ। जब ब्रिटिसहरूले भारत छोडेर गए तब भारतमा ब्रिटिसहरूको कब्जामा भएको जमिनदारी शासन मौलाउँदै गयो। पछि त्यसैको रवाफ देखाउने राजाका पुस्ता थिए। त्यसैलाई बादल सरकारले व्यंग्यात्मक रूपमा नाटक लेखेका हुन्।
यो नाटक मानव स्वार्थ, अहंकार र सत्तामोहको कथा हो। हामीले एउटा भग्नावशेष बन्दै गएको महलको पृष्ठपरिवेशमार्फत कथा भन्ने प्रयास गरेका छौँ। यो कमेडी जनरामा बनेको नाटक हो तर कमेडी नाटक भने होइन। यसलाई ‘डार्क कमेडी’ भन्न सकिन्छ। त्यो हेर्न थिएटर आइपुग्नुपर्ने हुन्छ। माथि भनिएको भग्नावशेष महल बिक्री गर्न पात्रहरूको संघर्षकै संवादलाई हामीले केही हास्य रसमा प्रस्तुत गरेका छौँ।

बंगाली नाटकलाई नेपालीकरणमा दुरुस्तै मञ्चन गर्नुभएको हो?
हामीले उक्त नाटकको कथालाई मात्र आधार बनाएका हौँ। दुरुस्तै भन्न मिल्दैन। नाटकको पात्र, परिवेशलाई नेपालको सन्दर्भसँग जोडेका छौँ। संवाद, मिति, पात्रको नाम सबै नेपालीकरण गरेका छौँ। पात्रमा तराईको जमिनदारी शासनलाई समेट्ने गरी मधेशका पात्र राखेका छौँ। राजपरिवार बाहुन हुन्छन् नाटकमा मैले पश्चिम तराईकै पात्रलाई राजा बनाएकी छु।
कुनै समयको एक सम्भ्रान्त परिवार। नेपालको परिवेशमा भन्नुपर्दा राणा शासन भनौँ या जमिनदार शासनजस्तो। त्यतिखेर उक्त परिवारलाई आफू निकै धनी भएको रवाफ थियो। त्यसपछि राजनीतिक परिदृश्य पूर्ण रूपमा परिवर्तन भयो। राणा शासन अन्त्य भयो, १० वर्षे द्वन्द्वकालपछि जमिनदार शासनको अन्त्य भयो। तर राजाहरूलाई आफू धनी भएको रवाफ रहिरह्यो। त्यसैलाई नेपालको परिवेशमा भन्दा व्यंग्यात्मक रूपमा शीर्षक ‘बहादुरपुरको दन्त्यकथा’ राखिएको हो।
विदेशी नाटक नै किन रोज्नुभयो?
मलाई कुनै मुद्दा बोकेको नाटक गर्न मन लागेन। तत्कालीन जेनजी आन्दोलनपछि किन हो कमेडी जनराको नाटक गरुँजस्तो लाग्यो। पछिल्लो समय थिएटरमा पनि कमेडी नाटक भइरहेको छैन भन्ने सोचेँ।
अर्को कुरा म यस वर्ष मण्डला थिएटरले निमन्त्रणा गरेको निर्देशक हुँ। त्यसैले कथा खोज्ने समय पनि कम थियो। नाटक गर्नु थियो। नेपालीमा कमेडी नाटक थुप्रै खोजेँ। केही फेला परे पनि पढ्दा आफैँलाई हाँसो उठेन।
त्यही क्रममा यो नाटकको भावानुवाद फेला पारेँ। एक बसाइमै पढेर सकाएँ। रमाइलो पनि लाग्यो र यसैमा गर्छु भन्ने सोचेँ। अरूलाई रुवाउन सजिलो छ तर हँसाउन गाह्रो छ भन्ने त थाहा छ। तैपनि एउटा मेरो प्रयास हो दर्शकलाई हसाऊँ भन्ने।
कथा अहिलेको परिवेशमा कत्तिको सान्दर्भिक छ?
कथा अहिलेको समय सान्दर्भिक लाग्छ। किनभने जेनजी आन्दोलनपछि हाम्रो राजनीतिक परिदृश्य अन्योलमा छ। देशको परिस्थितिसँगै मैले अहिले नाटकघरमा पनि कमेडी शैलीका नाटक कमै मञ्चन भएको बुझेँ। यो परिस्थितिमा मान्छेलाई हँसाउनुपर्छ, दर्शकलाई कमेडी चाहिएको छ भन्ने बुझेर कमेडी नाटक गर्न खोजेकी हुँ।
नाटकमा स्थापित कलाकारलाई समायोजन गर्नुभएको छ, यो कसरी सम्भव भयो?
मलाई मन परेका दुई नाटक थिए- ‘चतुरेको दाउपेच’ र अर्को यही नाटक। बादल सरकारको नाटक पढिसकेपछि श्रीमान् प्रवीण खतिवडालाई सुनाएँ। उहाँलाई नै नाटकको मुख्य भूमिकामा आफूले देखेको भनेँ। उहाँको हातमा दुईवटा फिल्मको स्क्रिप्ट थियो। त्यसलाई क्यान्सिल गरेर मेरो प्रस्ताव स्वीकार गर्नुभयो।
नाटकका सबै कलाकार एक त नाट्य अभिनयबाट स्थापित हुनुहुन्छ। उहाँहरू सबै फिल्मतिर व्यस्त हुनुहुन्छ। उहाँहरूलाई नाटक गर्ने प्रस्ताव आउँदा एकपटक सोच्नुहुन्छ, यही कारण पनि होला आफ्नो धरातलको माया र मोह उहाँहरूमा कायमै छ। अर्को कारण सबै जनासँग मेरो राम्रो सम्बन्धका कारण पनि हो। मैले आफ्नो सम्बन्ध भजाएकी हुँ। र, उहाँहरूको पनि नाटक गर्ने मनशायले नै सम्भव भयो।

नाटकबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
हामी नाटक मञ्चनको सुरुवाती चरणमै छौँ। त्यति धेरै दर्शकसँग साक्षात्कार गरिसकेकी त छैन। अधिकांश दर्शकहरू मेरो अग्रज र गुरुहरूलाई भेटिरहेकी छु। उहाँहरूले गुरुकुलको भाइब्स नाटकमा देखिएको छ भन्ने प्रतिक्रिया दिइरहनुभएको छ। सुनील पोखरेल गुरुले गुरुकुलमा हुने नाटकको माहोल मिस भइरहेको समयमा तिमीले पूरा गरेछौ भन्नुभयो। अभि सुवेदी र डा. शिव रिजाललगायत सरहरूले पनि निर्देशन पक्षमा मेहनत गरेको देखिएको छ भन्नुभयो। सुन्दा खुसी लाग्छ।
अहिले नेपालमा नाटक मञ्चनको अवस्था कस्तो छ?
समग्रमा नेपालभर नाटक मञ्चन भइरहेको छ। उपत्यकामै थुप्रै थिएटर छन्। राम्रा नाटक मञ्चन भइरहेका छन्। थिएटर थपिँदा अर्को थिएटरबीच प्रतिस्पर्धामा बढेको छ। मण्डलाले निर्देशकहरूलाई निमन्त्रणा गरेर जसरी बर्सेनि नाटक गरिरहेको छ, त्यसमा फरक समुदायका मानिस जोडिएका छन्। यसले फरक समुदाय र परिवेशको नाटक दर्शकले हेर्न पाइरहनुभएको छ। यसले अहिलेको समयमा नाटक अगाडि आएजस्तो लाग्छ।
तपाईंको नाट्य यात्राबारे बताइदिनुहोस् न।
मैले अभिनय सुरु गरेको २०६१ सालदेखि हो। २०४४ सालमा बर्दियामा मेरो जन्म भयो। थारू समुदायमा हुर्केको हुनाले आफ्नो सांस्कृतिक पर्व तथा कार्यक्रम हुँदा नृत्यसँगै अभिनय पनि गर्थेँ। विद्यालय पढ्दादेखि नै नाटकप्रति रुचि थियो। गाउँकै विद्यालयबाट एसएलसी दिएँ। त्यसपछि अभिनय सिक्ने सोच बनाएँ। सुशील चौधरी दाइले गुरुकुलमा अभिनय कक्षा खुलेको जानकारी गराउनुभयो। उहाँकै आग्रहमा अनलाइन फाराम भरेँ। छनोट पनि भएँ। उहाँप्रति एकदमै आभारी छु।
त्यसपछि काठमाडौँ आएर गुरुकुलमा मेरो नाट्ययात्रा सुरु भयो। गुरुकुलमा सबै शिक्षकहरू नर्वे, डेनमार्कलगायतका देशबाट नाटक सिकाउन आउनुहुन्थ्यो। जुलेन बोयल, अगस्ट बोयलजस्ता कचहरी नाटकका दाता मानिनेहरूसँग मैले सिक्ने मौका पाएँ। हामीले अभिनयसँगै नाटकको लाइटको प्रयोग, सेट निर्माणका बारेमा सबै सिकेका थियौँ।

गुरुकुलमा काम पाउन कत्तिको सहज थियो?
अहिलेजस्तो जताततै अभिनय सिक्ने अवसर थिएन। पहिले त अडिसन दिएर पास भएपछि मात्र नाटकमा काम पाइन्थ्यो। अभिनयभन्दा पनि गुरुकुलको प्रोडक्सन हुनुअघि अरू नाटकमा एउटा सानो लौरो बोक्न, पछाडि उभिने नै काम पाए पनि आफूलाई भाग्यमानी ठान्थ्यौँ। स्टेज चढ्न पाउनु नै हाम्रो लागि ठूलो कुरा थियो।
गुरुकुलमै रहेर थुप्रै नाटकमा काम गरेँ। पहिलो नाटक थियो ‘बाघभैरव’। सत्यमोहन जोशीको नाटक सुनील पोखरेलले निर्देशन गर्नुभएको थियो। मैले कताम्बरीको चरित्रमा काम गर्ने मौका पाएको थिएँ।
मैले ‘एल्मबमुनिको तिर्खा’, ‘खरीको घेरो’, ‘हेड्डा ग्याब्लर’, ‘ताराबाजी लैलै’ लगायत थुप्रै नाटक गरेँ। यस बीचको समयमा महिलाको मुद्दामा केन्द्रित रहेर बाँके, बर्दिया, दाङ, धनुषा, महोत्तरीलगायत स्थानमा कचहरी नाटक गरेँ।
केही समय अभिनयबाट टाढा रहे पनि अब निरन्तरता दिनेछु। फिल्म मेकिङ गर्ने सोच पनि छ। आगामी दिनमा सांस्कृतिक रूपमा आफ्नै भेगको कथालाई प्राथमिकता दिनेछु।





