प्रधानमन्त्री सुशीला कार्की
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरूलाई प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न निर्देशन दिएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरूलाई सिंहदरबारमा उनले यस्तो निर्देशन दिएकी हुन्।
उनले सचिवहरूलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि नपुगे थप अधिकार दिन पनि तयार रहेको बताउँदै आफ्नो जिम्मेवारी पूरा गर्न अरुको मुख नताक्न निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको भावनाअनुसार छिटोछरितो सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा गम्भीर भएर लाग्नुपर्ने बताइन्।
उनले भनिन्,‘हामी अस्थायी हौँ। म क्षणिक हो। ब्युरोक्रेसी स्थायी सरकार हो। तपाईँहरू यही क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ। अनुभव, दक्षता र विज्ञेषज्ञा पनि तपाईँहरूसँग हुन्छ। मेरो दाहिने–देब्रे जे भने पनि तपाईँहरू हो। मैले निर्देशन दिनसक्छु, सही गरेर दिनसक्छु, तर त्यसको कार्यान्वयन तपाईँहरूले नै गर्ने हो। बोलेरमात्र हुँदैन। काम त तपाईँहरूले नै गर्ने हो। त्यसैले नतिजामुखी भएर काम गर्नुहोस्। काममा कुनै प्रकारको बहानाबाजी नहोस्।’
कार्कीले मन्त्रीको भौतिक उपस्थिति नहुँदा रोकिएका कामहरू भए तुरुन्त अगाडि बढाउन निर्देशन दिइन्।


