मधेशका सभामुखले उपसभामुखसहित दर्जन सांसदलाई कार्यकक्षमै थुने, दुई सांसदमाथि हातपात

हिमाल प्रेस २७ कार्तिक २०८२ १९:१५ | Thursday, November 13, 2025
46
SHARES
मधेशका सभामुखले उपसभामुखसहित दर्जन सांसदलाई कार्यकक्षमै थुने, दुई सांसदमाथि हातपात

काठमाडौँ- मधेश प्रदेशसभाका प्रदेश सांसदमाथि हातपात भएको छ। सभामुख रामचन्द्र मण्डलमाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने क्रममा उनीहरूमाथि हातपात भएको हो।

जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद उपेन्द्र महतोमाथि हातपात भएको लोसपा मधेश प्रदेशका सचिव रामविनोद चौधरीले जानकारी दिए।

महाअभियोग प्रस्ताव दर्ता गरेर फर्किने क्रममा सभामुख मण्डलले उनीहरूमाथि हातपात गरेको चौधरीले बताए।

‘उहाँहरू महाअभियोग प्रस्ताव दर्ता गरेर आइरहनु भएको थियो। त्यहीबेला सभामुखज्यूले उहाँहरूमाथि हातपात गर्नुभयो,’ प्रदेशसभा परिसरमा रहेका चौधरीले भने।

उनका अनुसार सभामुख मण्डलले दुवै सांसदलाई हातपात गरेर धकेल्दै उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा पठाएका छन्। सभामुख मण्डलले उपसभामुख ईशरसहित त्यहाँ बसेका अन्य १२/१३ जना सांसदहरूलाई उपसभामुखको कार्यकक्षमा ताला लगाएर थुनेको लोसपा सचिव चौधरीको भनाइ छ।

सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि नेपाली कांग्रेससहित सात राजनीतिक दलका सांसदहरू तोक लगाउन उपसभामुख ईशरको कार्यकक्षमा बसेका थिए।

उपसभामुखले तोक लगाए पनि प्रदेश सचिवालयका कर्मचारीहरूले महाअभियोग प्रस्ताव दर्ता गर्न अनाकानी गरेको थियो। चर्को बहस र छलफलपछि प्रस्ताव दर्ता भएको लोसपा सचिव चौधरीको भनाइ छ।

आचरण अनुकूलको व्यवहार नगरेको भन्दै सात राजनीतिक दलले सभामुख मण्डलमाथि महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।

अपडेट : 

उपसभामुखको कार्यक्षमा थुनिएका प्रदेश सांसदहरू रिहा भएका छन्। सभामुख र उनका समर्थकहरूबाट थुनिएका उपसभामुखसहित प्रदेश सांसदहरू रिहा भएका हुन्। प्रदेशसभा परिसर पुगेको प्रहरी टोलीले उनीहरूलाई उपसभामुखको कक्षबाट बाहिर निकालेको बताइएको छ।

प्रकाशित: २७ कार्तिक २०८२ १९:१५ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast