काठमाडौँ- पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई पार्टीको कार्यकारी भूमिकाबाट अलग भएका छन्। डा. भट्टराईले राजधानीमा आइतबार आयोजित पार्टी एकता कार्यक्रममा सम्बोधन गर्दै अब आफू पार्टीको अभिभावकीय भूमिकामा रहने बताएका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असोज अन्तिम साता पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष पूर्णबहादुर खड्कालाई दिएर बसेका छन्।
काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा डा. भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका सन्तोष परियारबीच एकता घोषणा भएको छ। कार्यक्रममा डा. भट्टराईले पार्टीको नाम घोषणा गर्दै आफू पार्टीमा ‘अभिभावकीय भूमिका’ मा रहने बताए।
यसअघि डा. भट्टराई असोज ८ गते दुर्गा सोबलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आयोजक समितिको संयोजक बनाएर पार्टीको कार्यकारी भूमिकाबाट छुट्टिएका थिए।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता कृष्ण शर्माले भट्टराई अब पार्टीको कार्यकारी भूमिकामा नरहने बताए। शर्माले भने, ‘उहाँ कार्यकारी भूमिकामा रहनुहुने छैन। अभिभावकीय भूमिकामा रहेर पार्टीलाई दिशानिर्देश गर्नुहुनेछ।’
देउवा र भट्टराई तीन दशकभन्दा बढी समयदेखि पार्टीको उपल्लो भूमिका रहँदै आएका नेता हुन्।
२०४८ सालमा गृहमन्त्री भएर सत्तामा पुगेका देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। उनी पहिलोपटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए। जनजाति आयोग, दलित आयोग, कमैया मुक्ति, भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य जस्ता विषयमा देउवाको योगदान रहेको छ। २०५२ सालमा सांसद खरिदबिक्री प्रकरण भित्र्याएर संसदीय राजनीतिमा विकृत खेल थालेको, २०५९ सालमा संसद् विघटन गरी तत्कालीन दरबारमा प्रजातान्त्रिक व्यवस्था बुझाएको, पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरेकोजस्ता आरोप देउवामाथि लाग्दै आएको छ।
कांग्रेसका सभापति देउवा पार्टी विधानबमोजिम अब कार्यकारी भूमिका (सभापति) हुन पाउँदैनन्। कांग्रेस विधानमा पार्टी सभापति दुई कार्यकालभन्दा बढी हुन नपाइने व्यवस्था छ। सभापति देउवाले पार्टीको कार्यकारी भूमिकाबाट अलग हुने बताउँदै आएका बेला भदौ २४ गते जेनजी आन्दोलनका क्रममा निवासमै आक्रमणमा परेर घाइते भएका थिए। घाइते भएर उपचारका लागि सिंगापुर जानुअघि बसेको असोज २८ गते केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका थिए।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सभापति देउवा कार्यवाहक सभापति खड्कालाई तत्काल फिर्ता गर्ने पक्षमा छैनन्। विधानअनुसार सभापति देउवाको कार्यकाल यही मंसिर अन्त्यसम्म छ। एक वर्ष पदावधि थपेर पार्टीको कार्यकारी भूमिका रहन सक्ने व्यवस्था भए पनि देउवा तत्काल महाधिवेशन गराउने पक्षमा रहेको कांग्रेस नेताहरू बताउँछन्। ‘सभापतिज्यू पार्टीमा तत्काल सक्रिय नहुने पक्षमा हुनुहुन्छ। कावा सभापति खड्कालाई फिर्ता गर्ने कुरा पनि उहाँले गर्नुभएन।’
तत्कालीन माओवादीले २०५२ सालमा थालेको ‘जनयुद्ध’ अघि उनै डा. भट्टराई संयोजक रहेको संयुक्त जनमोर्चाले सरकारलाई ४० बुँदे माग पेस गरेको थियो। भट्टराईले माग पेस गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए। द्वन्द्वका बेला तत्कालीन माओवादी जनसरकार प्रमुख रहेका भट्टराई पहिलो संविधानसभा निर्वाचनपछि २०६५ सालमा अर्थमन्त्री भएका थिए। यसैगरी उनी २०६८ भदौदेखि २०६९ चैतसम्म प्रधानमन्त्री भएका थिए। भट्टराई प्रधानमन्त्री भएका बेला पहिलो संविधानसभा विघटन भएको थियो। दोस्रो संविधानसभा निर्वाचनबाट संविधान निर्माण भएपछि माओवादी छाडेका बाबुरामले वैकल्पिक शक्ति निर्माण गरी त्यसको अगुवाइ गर्दै आएका थिए।
७१ वर्षीय बाबुराम र ७८ वर्षीय देउवा पार्टीको कार्यकारी भूमिकाबाट अलग भए पनि उनीहरूलाई प्रधानमन्त्री बन्ने बाटो भने खुलै छ। प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएर बलियो शक्ति बनेमा उनीहरू प्रधानमन्त्री बन्नेछन्।
देउवा र भट्टराईले पार्टीको कार्यकारी भूमिकाबाट बाहिरिए पनि उनीहरूका समकक्षी ७१ वर्षीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ७४ वर्षीए केपी शर्मा ओलीले भने तत्काल पार्टी अध्यक्ष पद छाड्ने संकेत देखिएको छैन।
एमाले अध्यक्ष ओली पार्टीको विधान आफूअनुकूल बनाएर तेस्रो पटक अध्यक्ष बन्ने तयारीमा छन्। एमाले महाधिवेशन मंसिर अन्तिममा हुने कार्यतालिका छ। जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओलीमाथि नरसंहार गरेको, भौतिक सम्पत्ति नष्ट हुनबाट जोगाउन नसकेको जस्ता अनेक खालका आरोप लाग्दै आएको छ। यस्ता आरोपको प्रतिवाद गर्दै आएका ओली पछिल्लो समयमा गैरजिम्मेवार अभिव्यक्ति दिन थालेका छन्।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड पनि तत्काल पार्टीको कार्यकारी भूमिकाबाट अलग हुने पक्षमा छैनन्। चार दशकदेखि पार्टीको कार्यकारी भूमिकामा रहेका प्रचण्ड पछिल्लो सयम विभिन्न राजनीतिक दललाई एकीकृत त्यसको अगुवाइ गरिरहेका छन्।


