नेपालमा एथलेटिक्सको ठूलो सम्भावना छ, आधारभूत प्रशिक्षण आवश्यक छ : जोन केलाई (अन्तरवार्ता)

हिमाल प्रेस ३१ असोज २०८२ १३:४०
नेपालमा एथलेटिक्सको ठूलो सम्भावना छ, आधारभूत प्रशिक्षण आवश्यक छ : जोन केलाई (अन्तरवार्ता)

विश्व खेलकुदमा मिनी ओलम्पिकका रूपमा चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदक विजेता केन्या निवासी जोन केलाई धारा नेपालगन्ज म्याराथनको सद्भावना दुत नियुक्त भएका छन्। धारा नेपालगन्ज म्याराथनकै भगिनी रनिङ इभेन्ट गौघाट ग्रीन रनमा समेत उनी सहभागी भए। विश्व प्रतिष्ठित सिंगापुर म्याराथन, मुम्बई म्याराथन, ब्रसेल्स म्याराथन (न्युजिल्याण्ड), टोरन्टो वाटरफ्रन्ट म्याराथन (क्यानडा) लगायत म्याराथन जित्न सफल जोन शुक्रबार नेपाल छाड्दैछन्। नेपाल छाड्नुअघि उनीसँग गरिएको संक्षिप्त कुराकानी :

तपाईँलाई धारा नेपालगन्ज म्याराथनको सद्भावना दुत नियुक्त गरिएकोमा कस्तो महसुस भएको छ?

धारा नेपालगन्ज म्याराथनको सद्भावना दुतको रूपमा नियुक्त गरिएकोमा मलाई निकै खुसी र सम्मानित महसुस गराएको छ।

तपाईँले गौघाट ग्रीन रनमा सहभागिता जनाउनुभयो। दौडमार्फत जलवायु परिवर्तनबारे जनचेतना फैलाउने आयोजकको प्रयासलाई तपाईं कसरी हेर्नुहुन्छ?

आयोजकको प्रयासले मलाई साँच्चै प्रेरित गर्यो। उनीहरूले जवायु परिवर्तन र त्यसको जीवनमा पर्ने प्रभावका बारेमा स्थानीय जनतालाई शिक्षाको सन्देश दिने सरल र शान्तिपूर्ण तरिका प्रस्तुत गरेका छन्। अब यसलाई व्यवहारिक रूपमा अँगाल्न, ठूलो संख्यामा वृक्षारोपण गरेर अनि प्लास्टिकको प्रयोगमा कमी गरे यस जागरण अभियानमा जनसहभागिता बढाउनु आवश्यक छ।

धारा नेपालगन्ज म्याराथन र यसका भगिनी इभेन्टहरूले तपाईँको सहभागितामार्फत अन्तर्राष्ट्रिय धावकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेका छन्। यी कार्यक्रमहरूलाई विश्वस्तरमा पुर्याउन तपाईँको भूमिका के रहनेछ?

धारा नेपालगन्ज म्याराथनको सद्भावना दुतको रूपमा म यो कार्यक्रमको स्तरवृद्धि गर्न चाहन्छु। म विश्वस्तरीय म्याराथन धावकहरूको सहभागिता गराउन समन्वय गर्नेछु जसले गर्दा धारा नेपालगन्ज म्याराथनलाई विश्वस्तरको गोल्ड लेभल म्याराथनमा रुपान्तरण गर्न सहयोग पुग्नेछ।

धारा नेपालगन्ज म्याराथनको सद्भावना दुतका रूपमा तपाईँलाई हरेक वर्ष नेपाल आउनुपर्ने हुनसक्छ। के तपाईं नियमित रूपमा आउन तयार हुनुहुन्छ?

धारा नेपालगन्ज म्याराथनको सद्भावना दुतका रूपमा म कुनै पनि समय र स्थानमा आयोजना गरिने दौड कार्यक्रममा अवश्य सहभागी हुनेछु।

यदि धारा नेपालगन्ज म्याराथनले रनिङ क्लिनिक वा यस्तै केही आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनायो भने तपाईँ आफ्नो समय यहाँ दिन इच्छुक हुनुहुन्छ?

हो, म धारा नेपालगन्ज म्याराथनले सञ्चान गर्ने रनिङ क्लिनिकहरू वा यस्तै प्रशिक्षण कार्यक्रमहरुमा हरेक वर्ष म मेरो समय समर्पित गर्नेछु।

कृपया तपाईँका मुख्य दक्षता र अनुभवका बारेमा बताउन सक्नुहुन्छ?

यसले हामीलाई सरोकारवालासँग सहकार्य र समन्वय गर्न सहज हुनेछ। दौड क्षेत्रमा मेरो अनुभव र दक्षताका बारेमा भन्नुपर्दा म एमेच्योर र एलिट खेलाडीलाई प्रशिक्षण गराउन सक्छु। युवालाई परामर्श दिन र मार्गनिर्देश गर्न सक्छु। प्रेरणादायी वक्ताका रूपमा बालबालिकालाई प्रेरित गर्नसक्छु। एथ्लेटिक्स प्रतियोगिता आयोजना र व्यवस्थापनमा आइडिया शेयर गर्न सक्छु र कार्यान्वयनमा सघाउन सक्छु।

केन्या स्वयं विश्वस्तरीय धावकहरू उत्पादन गर्ने कारखानाको रुपमा परिचित छ। धारा नेपालगन्ज म्याराथनले सिफारिस गरेका धावकहरूका लागि त्यहाँ प्रशिक्षण वा अभ्यास कार्यक्रम सञ्चाललन र्ने सम्भावना के छ?

केन्यामा व्यवस्थित कार्यक्रमहरूको सम्भावना छ जसले खेलाडीहरूलाई प्रत्यक्ष लाभ पुर्याउनेछ। यसले धारा नेपालगन्ज म्याराथनको सद्भावना दुतको जिम्मेवारीमा रहेका कारण नेपालबाट सिफारिस हुने खेलाडीहरूलाई प्रत्यक्ष लाभ पुर्याउन तत्पर रहनेछु। साथै, म धारा नेपालगन्ज म्याराथनले सिफारिस गरेका खेलाडीहरूलाई सहयोग र समन्वय गर्न तयार रहनेछु।

केन्याली रनिङ एकेडेमीहरूले नेपालका रनिङ आयोजकहरू वा एकेडेमीहरूसँग कसरी सहकार्य गर्न सक्छन्?र, यस्तो सहकार्यलाई सहज बनाउन तपाईँको के भूमिका हुनसक्छ?

केन्याको विश्व एथ्लेटिक्समा प्रभुत्व हुनु र गहिरो रुपमा जरा गाडिनु त्यहाँका रनिङ एकेडेमीहरुका कारण हो। म केन्या एथ्लेटिक्स फेडरेसन र नेपाललाई धारा नेपालगन्ज म्याराथनमार्फत जोड्दै दुवै देशबीच अनुभव, संस्कृति र विकासका आयाम आदानप्रदान कार्यक्रम सन्चालन गर्नेछु।

तपाईँको नजरमा नेपालमा दौडप्रतिको आकर्षण कस्तो छ? र, बालबालिका तथा युवाहरूमा यो रुचि अझ बढाउन के गर्न सकिन्छ?

नेपालमा दौडको स्तर अहिले तुलनात्मक रुपमा न्यून छ तर युवामा आकर्षण बढ्दो रहेको देखेँ। यसलाई थप सशक्त बनाउनका लागि प्रेरणादायी वातावरण सिर्जना गर्नु र स्थानीय वा जिल्ला स्तरमा धेरैभन्दा धेरै प्रतियोगिताहरू आयोजना गर्नु जरुरी छ।

नेपाली धावक, खेलप्रेमी र समुदायलाई के सन्देश दिन चाहनुहुन्छ?

मलाई धारा नेपालगन्ज म्याराथनको सद्भावना दुतको रूपमा नियुक्त गरेकोमा यसको म्यानेजमेन्ट टिम र सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन्छु। नेपालमा एथ्लेटिक्समा ठूलो सम्भावना छ। तर प्राविधिक प्रशिक्षण, सहयोग र पूर्वाधारको अभाव छ। त्यसैले एथ्लेटिक्स प्रशिक्षणको आधारभूत क्षमता विकास गर्नु अत्यावश्यक छ।

प्रकाशित: ३१ असोज २०८२ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast