बुटवलमा उद्योगी व्यवसायी भन्छन्: तोकिएकै मितिमा चुनाव हुनुपर्छ

हिमाल प्रेस २७ असोज २०८२ २०:३१
8
SHARES
बुटवलमा उद्योगी व्यवसायी भन्छन्: तोकिएकै मितिमा चुनाव हुनुपर्छ

बुटवल- उद्योगी व्यवसायीहरूले तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई संवैधानिक बाटोमा हिँडाउन आग्रह गरेका छन्। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिघटनापछि मुख्य राजनीतिक दलहरूले आफूलाई रूपान्तरण गरी आगामी फागुन २१ गते तोकिएको निर्वाचनमार्फत मुलुकलाई सही बाटोमा हिँडाउनुपर्ने बताएका हुन्।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ७२ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरूले मुलुकमा शान्ति र विकासका लागि राजनीतिक स्थितरता हुनुपर्ने बताए। सधैँभरि भइरहेका आन्दोलन र राजनीतिक अस्थिरताले मुलुकलाई पछाडि धकेल्नुका साथै लगानीको समेत असुरक्षा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले सरकारले तोकेकै मितिमा निर्वाचन हुनुपर्ने र उक्त निर्वाचनमा दलहरू सहभागी हुनुपर्ने बताए। पुराना दलहरूलाई गाली गर्ने प्रवृत्ति ठीक नभएको बताउँदै मुलुकलाई अब सही बाटोमा हिँडाउन तोकिएकै मितिमा चुनाव हुनुपर्ने उनको भनाइ छ।

उनले निजी क्षेत्रले उठान गरेका धेरै कुराहरु सम्बोधन भएको स्मरण गर्दै कोभिड-१९ महामारी, आर्थिक मन्दी, जेन–जी आन्दोलन, वर्षाले पुर्‍याएको क्षतिका कारण अझै पनि निजी क्षेत्र उठ्न नसकिरहेको बताए। ‘परिवार छोराछारी बोकेर मास्क लगाएर घरबाट भाग्नुपर्ने स्थिति किन आयो?,’ उनले प्रश्न गर्दै भने, ‘ऋण धन गरी लगानी गरेर देशमा रोजगारी सिर्जना गरेका उद्योगी व्यवसायीलाई तारन्तार आक्रमण गर्ने र लखेट्ने कामले यो देशको आर्थिक विकासले गति लिन सक्छ?’ उनले तोडफोड, आगजनी तथा चोरी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरे।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले देशमा पछिल्लो पटक भएको जेन–जी युवा विद्यार्थीको आन्दोलनका विषयहरू सान्दर्भिक रहेको तर आन्दोलनको आडमा भएका अपराधिक गतिविधि गलत भएको बताए। ‘आन्दोलन र अपराधलाई छुट्याएर हेरिनुपर्छ,’ उनले भने,‘आन्दोलनका विषयहरु सान्दर्भिक थिए, तर त्यसको आडमा तोडफोड, आगजनी, चोरी, लुटपाट लगायतका अपराधिक गतिविधि भएका छन्, त्यसमा संलग्नलाई कारबाही गरिनुपर्छ।’

त्यसै गरी उपप्रमुख सावित्रादेवी अर्यालले पनि निजी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएको बताउँदै औद्योगिक विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने विषयमा निजी क्षेत्रसँग फरक मत नरहेको बताइन्।

त्यसै गरी नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले पनि उत्पन्न परिस्थितिलाई सहज बनाउँदै सरकारले घोषणा गरेको घोषित मितिमा चुनाव गराउने गरी तयारी हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरे।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले अहिले निजी क्षेत्रका लागि प्रतिकूल समय रहेको बताउँदै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरे।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि संघले गरेका पहल तथा प्रयासहरूको बारेमा जानकारी गराए। उनले हेरक आन्दोलनमा व्यवसायिक प्रतिठानमाथि हुने आक्रमणले निजी क्षेत्रको मनोबल गिराएको बताउँदै राज्यले प्रदान गर्ने सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउनु पर्ने बताए।

सोही अवसरमा बुटवल उद्योग वाणिज्य संघले इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहितका उपकरण प्रदान गरेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवललाई ह्वील लक प्रदान गरिएको छ।

प्रकाशित: २७ असोज २०८२ २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast