
पोखरा- लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपल्ट महिला नेतृत्व निर्वाचित भएको छ। संघको तीन दशक लामो इतिहासमा पहिलोपल्ट जानुका अधिकारी पराजुली प्यानल निर्वाचित हुँदै इतिहास रचेको हो।
संघको १५ औं महाधिवेशनअन्तर्गत आइतबार राति सम्पन्न गणनामा उनले अध्यक्षका प्रत्यासी राजेन्द्र ओझालाई १६३ मतान्तरले पराजित गर्दै आगामी २ वर्षका लागि निर्वाचित हुन सफल भएकी हुन्।
लामो समयदेखि संघमा आबद्ध जानुका यसअघि महासचिव थिइन्। २०७२ मा संघमा आमा समूह तथा संघसंस्था परिचालन समिति संयोजक भई कुशलतापूर्वक भूमिका निर्वाह गरेकी उनी २०७४/७६ को कार्यकालमा महिला सदस्यको रूपमा संघमा निर्वाचित भएकी हुन्।
२०७६/७८ मा कोषाध्यक्ष निर्विरोध निर्वाचित भइन् । अर्को चुनावमा उपमहासचिव चुनिँदै ०८० मा महासचिव बनेकी थिइन् । संघमा महिला महासचिव पनि उनी पहिलो थिइन्।
यसपालि कुल २०१९ मतदातामध्ये चुनावमा १८८१ मत खसेको थियो। जसमा विजयी जानुकाले ९९६ मत प्राप्त गरेकी हुन्। ओझाको पक्षमा ८३३ मत आएको निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए।
जानुका प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला निर्वाचित भए । उनले ९६६ मत प्राप्त गर्दाका ओझा प्यानलबाट उपेन्द्रराज सुवेदी (राजु) ले ८५३ मत ल्याएका छन्।
प्रथम उपाध्यक्षमा निर्वाचित विक्रम कर्माचार्यले ११५० मत ल्याउँदा उनका प्रतिस्पर्धी मेनुका श्रेष्ठले ६७४ ल्याइन्। द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडी) १२१८ मत ल्याउँदै निर्वाचित भए। उनका प्रतिस्पर्धी धीरजकुमार श्रेष्ठले ६०३ ल्याएका छन्।
महासचिवमा भरतराज ओझा निर्वाचित भए। उनले ९५५ मत ल्याए। उनका प्रतिस्पर्धी जीवन तिवारीले ८७६ ल्याए। महासचिवमा झिनो मतान्तरले भरतराज ओझा निर्वाचित भएका हुन्।
उपमहासचिवमा गंगाकुमारी मल्लले लक्ष्मीप्रसाद ढुंगाना (एलपी) लाई पराजित गरिन्। गंगाले १०६६ ल्याउँदै निर्वाचित हुँदा लक्ष्मीले ७६६ मत ल्याएका हुन्।
कोषाध्यक्षमा हरि बस्ताकोटीले १०२७ मत ल्याउँदै निर्वाचित हुँदा अर्का उम्मेदवार टीकाराम सापकोटाको पक्षमा ७७८ मत परेको छ।
संस्थागत सदस्यमा दुवै समूहका साझा उम्मेदवार वीरभद्र कँडेल निर्विरोध भए। एसोसियट सदस्यमा जानुका प्यानलकै दयाराज भण्डारी निर्वाचित भए। संघको शुक्रबारदेखि २९ औं साधारणसभा तथा १५ औं महाधिवेशन सुरु भएको हो।
२ वर्षे कार्यकालका लागि पदाधिकारीसहित १९ सदस्यीय कार्यसमितिका लागि कुल ३७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। सदस्यहरुतर्फ पनि जानुकाकै प्यानलका सबैजना निर्वाचित भए।
खुला सदस्यमा जानुका प्यानलबाट भविन्द्र पुन (भविन), वीरेन्द्रराज भूर्तेल, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, सन्दीप बुढाथोकी र सुजन न्यौपाने छन्। महिला सदस्यमा गंगा सापकोटा परियार र शर्मिला श्रेष्ठ निर्वाचित भएका हुन्।