साझा प्रकाशनले थाल्यो पुस्तक प्रदर्शनी

हिमाल प्रेस २० भदौ २०८२ १६:४२
42
SHARES
साझा प्रकाशनले थाल्यो पुस्तक प्रदर्शनी

काठमाडौँ- साझा प्रकाशनले विशेष पुस्तक प्रदर्शनी आयोजना गरेको छ। पठन संस्कृति विकास गर्न आयोजना गरिएको प्रदर्शनीको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन्। उनले साझा प्रकाशनले पढ्ने बानीको विकास गर्न थालेको अभियान सकारात्मक रहेको बताए।

साझा प्रकाशनसँग आफ्नो गहिरो सम्बन्ध रहेको स्मरण गर्दै संस्कृतिविद् सत्यमोहन जोशीको अपनत्व रहेको यस संस्थाको उन्नयनमा आफूले सहयोग गर्ने वचन दिए। उनले ललितपुर महानगरपालिका शैक्षिक संस्थालाई पुस्तक प्रदर्शनीको अवलोकनका लागि सहजीकरण गरिदिने बताए।

प्रदर्शनीस्थलमा ४.२५ रुपैयाँ मूल्यदेखि २८ सय रुपैयाँसम्मका पुस्तक राखिएका छन्। टेकबहादुर खत्रीको पञ्चायत आजको मूल्य रु ४.२५, पं.ऋषभदेव शास्त्रीको व्याकरणको दन्त्यकथा रु ६.५० छ भने व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोशको मूल्य २८ सय रुपैयाँ रहेको छ।

निमित्त महाप्रबन्धक भेषराज घिमिरेका अनुसार प्रदर्शनीमा विशेष छुटमा पुस्तक खरिद गर्न सकिनेछ। साथै नेपाल प्रज्ञाप्रतिष्ठान, सिनासलगायत प्रकाशक तथा व्यक्तिगत प्रकाशनका पुस्तक पनि छन्। पुस्तक प्रदर्शनी हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

साझाले देशका सबै भाषा, सबै विधा, भूगोल, जाति, लिंग आदिसित सम्बद्ध प्रकाशनसम्बन्धी काम गरिरहेको छ भने अझ यसको विकास र विस्तार गर्ने लक्ष्य राखेको घिमिरेले बताए। उनले भने, ‘प्रदर्शनी देशका आमपाठकले कस्ता पुस्तकप्रति रुचि राखिरहेका छन् भन्नेबारेको सर्वेक्षण पनि हो।

यस सर्वेक्षणबाट प्राप्त निष्कर्षअनुसार आगामी दिनमा यस प्रकाशनले अपनाउनुपर्ने बाटोको पनि निर्धारण गरिनेछ।’
प्रदर्शनी साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक ललितपुर र देशभरका सम्पूर्ण बिक्रीकक्षमा भदौ २० देखि असोज ३ गतेसम्म रहने निमित्त महाप्रबन्धक घिमिरेले जानकारी दिए।

प्रकाशित: २० भदौ २०८२ १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast