साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु

हिमाल प्रेस ७ असोज २०८० १६:५१
212
SHARES
साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु साझा प्रकाशनको केन्द्रीय कार्यालयमा आइतबार पुस्तक प्रदर्शनी उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन।

काठमाडौँ– साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु भएको छ। प्रदर्शनी आइतबार सुरु भएको हो।  प्रदर्शनीस्थलमा ४.२५ रुपैयाँ मूल्यदेखि २८ सय रुपैयाँसम्मका पुस्तक रहेको प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले जानकारी दिए।

साझा प्रकाशनबाट हालै प्रकाशित ‘परमानन्दगीता’, ‘अणिमा’, ‘मनको बह’, ‘मनको बिम्बबाट’, ‘आसन ग्रहण’, खोजी, ‘मिसन यात्रा’, ‘धर्मदर्शन’, ‘जीवनदर्शन’, ‘नक्साको जून’, ‘कुमुदाग्नि’, ‘नेपाली उपन्यासमा आञ्चलिकता : सिद्धान्त, परम्परा र प्रवृत्ति’, ‘परेवा र बाज’, ‘म गाउँ फर्कन्छु’ जस्ता कृति प्रदर्शनीका आकर्षण हुन्।

यसका साथै नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित ‘श्रीमद्भागवत महापुराण’ को नवीन संस्करण, ‘वेदपुराणका रत्नहरू’ लगायत ५ सय विभिन्न शीर्षकका कृति राखिएको घिमिरेले जानकारी दिए।

साझाले पठन संस्कृतिको विकास गर्न पुस्तक प्रदर्शनी आयोजना गरेको हो। पुस्तक प्रदर्शनीको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आइतबार एक समारोहका बीच पुलचोकमा उद्घाटन गरे। सो अवसरमा महानगर प्रमुख महर्जनले साहित्यप्रति आफ्नो लगाव रहेको बताउँदै रुचि भएको पुस्तक अध्ययन गर्दा छोड्नै नसक्ने र आफूभित्र रहेको पाठकलाई मेयर पदले डिस्टर्ब गरेको गुनासो गरे। ‘मेयर भएपछि बिहानै उठ्नुपर्छ। बेलुका छाड्नै मन लागेको पुस्तक लामो समयसँग पढ्न भ्याउँदिनँ। मेयर पदले पाठकलाई डिस्टर्ब गरेको छ।’

उनले सत्यमोहन जोशीजस्ता स्रष्टाको सम्मानमा काम गर्दै आएको बताउँदै १ सय ११ वर्षे साझा प्रकाशनसँग १ सय ५ वर्षको ललितपुर महानगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाए।

प्रदर्शनीमा साझा प्रकाशनमा लामो समय बिताएका अधिकांश पुस्तकका आवरण डिजाइनर ९२ वर्षीय कलाकार टेकवीर मुखिया र नेपाली लोक नृत्यक्षेत्रमा विशिष्ट योगदान गरेका अग्रज स्रष्टा भैरवबहादुर थापाको उपस्थिति थियो। प्रदर्शनमा राखिएका टेकबहादुर खत्रीको ‘पञ्चायत आज’ को मूल्य ४ रुपैयाँ २५ पैसा छ भने पं. ऋषभदेव शास्त्रीको ‘व्याकरणको दन्त्यकथा’ को मूल्य ६ रुपैयाँ ५० पैसा छ। यस्तै प्रा. नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ को मूल्य २८ सय रुपैयाँ छ।

प्रदर्शनी साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक, ललितपुर एवं बिर्तामोड, धरान, विराटनगर, राजविराज, जनकपुर, भरतपुर, पोखरा, नुवाकोट, बुटवल, दाङ र प्रदर्शनीमार्गमा रहेको बिक्री कक्षमा असोज २२ गतेसम्म रहनेछ।

प्रकाशित: ७ असोज २०८० १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =