
काठमाडौँ- भारतको गुवाहाटीमा सम्पन्न भएको आसाम क्रिकेटविरुद्धको टी २० सिरिज नेपाल ‘ए’ले जितेको छ। सोमबार भएको अन्तिम टी २० मा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले हराउँदै शृंखला ३–२ ले आफ्नो पक्षमा पारेको हो।
नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो ।आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ तथा साहिल जेन र कप्तान सुमित घडिअन्करले समान २५ रन बनाए । सौरभ दिहिगाले १७ रन बनाए ।
नेपालका लागि शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २-२ तथा बसिर अहमदले १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाउँदै आसामलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । ३९ बलमा उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन बनाए।
आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २-२ विकेट लिए । बिहीबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो।
त्यस्ते तेस्रो खेलमा शनिबार ९ रनले नेपाल ए विजयी भएको थियो भने चौथो खेलमा आइतबार आसाम १८ रनले विजयी भएको थियो।