जेन-जी पुस्ताको आन्दोलन : छानबिन र एकताका लागि शाही र कडेलको अपिल

हिमाल प्रेस ३० भदौ २०८२ २१:११ | Monday, September 15, 2025
जेन-जी पुस्ताको आन्दोलन : छानबिन र एकताका लागि शाही र कडेलको अपिल

सुर्खेत- जेन-जी आन्दोलनले भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकार जस्ता मागसहित सुरु गरेको आन्दोलनमा हिंसात्मक घटनामा परिणत भएपछि मुलुकभर त्रास सिर्जना भएको छ। आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटनामा हालसम्म ७० जनाभन्दा बढीले ज्यान गुमाएको र सयौँ घाइते भएको तथ्यांक सार्वजनिक भएको छ।

यी घटनाप्रति दुई ठूला दलका प्रदेश नेताहरूले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, घाइतेहरुको स्वास्थ्य लाभको कामना र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्।

पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कर्णालीका दल नेता जीवनबहादुर शाही र मुख्यमन्त्री एवम् नेकपा (एमाले) कर्णालीका दलका नेता यामलाल कडेलले संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालत, संघीय संसद, राष्ट्रपति भवन, सिंहदरबार, प्रदेश सभा भवनदेखि सार्वजनिक तथा निजी संरचनामा गरिएको आगजनी र तोडफोडको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका छन्।

उनीहरूले असामान्य परिस्थितिको फाइदा उठाउँदै भइरहेको अवैध गतिविधि नियन्त्रण गर्न र नागरिकको ज्यान-धनको सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायलाई आह्वान गरेका छन्।

विज्ञप्तिमा हाल देखिएको निराशा र असन्तोषलाई गम्भीरतापूर्वक बुझेर समाधान खोज्न राज्य संयन्त्रलाई सुझाव दिइएको छ। ‘विगतका कमजोरी सच्याउँदै आत्मसमीक्षा गर्दै अघि बढ्नु जरुरी छ, अहिले प्राप्त उपलब्धिको रक्षा गर्दै थप एकताबद्ध हुनु नै समयको माग हो,’ विज्ञप्तिमा भनिएको छ।

शाही र कडेलले राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि परेको गम्भीर चुनौतीलाई सामना गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र युवा पुस्तालाई धैर्यका साथ संवैधानिक तथा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार एकताबद्ध हुन अपिल गरेका छन्।

प्रकाशित: ३० भदौ २०८२ २१:११ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast