काठमाडौँ- अध्ययन र पर्यटक भिसामा नेपाल आएर मुस्लिम धर्म प्रचार–प्रसार गर्ने कार्यमा संलग्न इन्डोनेसियाका तीन महिलाहरू पक्राउ परेका छन्। अध्यागमन विभागले उनीहरूलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका महिलाहरूको नाम अध्यागमन विभागले सार्वजनिक गरेको छैन।
विभागले जनाएअनुसार पक्राउ परेकामध्ये दुई जना अध्ययन र एक जना पर्यटक भिसामा नेपाल आएका हुन्।
अध्ययन भिसा लिएर सन् २०२४ मा नेपाल प्रवेश गरेकी एक महिलाले नेपालमा भिसाको उद्देश्यविपरित ललितपुरको धोबीघाटमा मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेसी समाजमा गल्र्स होस्टलमा इन्डोनेसियाका महिलाहरूलाई शिक्षकको रूपमा राखेर टर्कीस भाषा र कुरान सिकाउनुका साथै मुस्लिम धर्मको प्रचारप्रसार गर्ने गरेको पाइएको विभागले जनाएको छ।
टर्की र बेलायतस्थित एक धर्मप्रचारक संस्थामार्फत उनीहरूले प्रत्येक वर्ष २ करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने गरेको समेत खुलेको छ।
होस्टलमा करिब ५० जना छात्राहरूलाई कुरा पढाइराखेको अवस्थामा अध्यागमन विभागका निर्देशकसहितको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। ती छात्राहरू अन्य शैक्षिक संस्थामा अध्ययन गरेको नपाइएको जनाइएको छ।
ति महिलाहरू ललिपुरकै ज्वागलमा समेत ब्वाइज होस्टल सञ्चालन गरेर विभिन्न जिल्लाका पुरुषहरूलाई कुरान पढाउने एवं धर्म प्रचारप्रसार गरेको पाइएको जनाइएको छ। यस विषयमा आवश्यक अनुसन्धान भइरहेको विभागले जनाएको छ।
नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले काम गर्ने भए ‘वर्किङ भिसा’ लिएको हुनुपर्छ।
गैरकानुनी रुपले बसेका विदेशीलाई अनुसन्धानपश्चात विभागका महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने कानुनी व्यवस्था छ।



