
काठमाडाैँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले युरोपेली नेताहरूको प्रतिनिधिमण्डलसँग ह्वाइट हाउसमा पुगेर राष्ट्रपति ट्रम्पसँग भएको सौहार्दपूर्ण भेटमार्फत आफ्नो राष्ट्रको हितको रक्षा गरेका छन्।
गत शुक्रबार अलास्कामा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको विशेष स्वागतले ट्रम्प रुसको मागका आधारमा शान्ति सम्झौता गर्ने तत्पर छन् भन्ने चिन्ता उत्पन्न गरेको थियो।
युक्रेनका राष्ट्रपति जेलिन्स्की र सातजना वरिष्ठ युरोपेली नेताहरूको ह्वाइट हाउसमै उपस्थितिले त्यो परिणामलाई रोकिदिएको छ। जेलिन्स्कीले पुटिनसँग त्रिपक्षीय बैठकका लागि तयार रहेको जनाए। सथाै उनले भूभाग रूसलाई सुम्पिने प्रस्ताव अस्वीकार गरे।
फेब्रुअरीमा भएको तनावपूर्ण बैठकको अवस्था पनि यसपटक दोहोरिएन। ट्रम्पले त्यति बेला ओभल अफिसमै जेलिन्स्कीलाई कडा शब्दमा गाली गरेका थिए।
युरोपेली नेताहरू जर्मन चान्सलर फ्रेड्रिक मर्ज, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी, फिनल्यान्डका राष्ट्रपति अलेक्जान्दर स्टब्ब, नाटो महासचिव मार्क रुटे र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर्लेन युक्रेनी राष्ट्रपति जेलिन्स्कीलाई समर्थन गर्न सोमबार हतारिँदै वासिंटन पुगेका थिए।
उनीहरूले उत्साहजनक सहभागितासहित वार्ता सम्पन्न गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जेलेन्स्कीले ट्रम्पसँगको छलफल अहिलेसम्मकै सर्वश्रेष्ठ रहेको प्रतिक्रिया दिएका छन् ट्रम्पले यसलाई धेरै राम्रो भएको बताए।
छलफलको मुख्य विषय युद्ध अन्त्य गर्दा युक्रेनलाई सुरक्षा ग्यारेन्टी कसरी दिने भन्नेमा केन्द्रित थियो। यसक्रममा ट्रम्पले भने जेलिन्स्की र रूसका राष्ट्रपति पुटिनलाई त्रिपक्षीय बैठकका लागि दबाब दिएका छन्।
बैठकमा भएको ठोस प्रगतिबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन। युद्ध अन्त्य गर्ने कदम अघि बढाउन ट्रम्पको निरन्तर संलग्नता, जेलिन्स्कीको ठूलो सम्झौता र पुटिनले युक्रेनमाथि आक्रमण रोकेको अवस्थामा मात्र सम्भव हुने बताइएको छ। जर्मन चान्सलर फ्रिड्रिख मर्ज र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बैठक सुरु हुनुअघि पत्ररकारसँग ‘अगाडि बढ्न युद्धविराम अनिवार्य हुन्छ, जुन पुटिन चाहँदैनन्’ भनेका थिए।
बैठकले पुटिन-जेलेन्स्कीबीच वार्ता हुने सम्भावना बढाएको छ। ट्रम्पले पुटिनलाई फोन गरेर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता मिलाउन पहल गरेका छन्। यसपछि आफूसहित त्रिपक्षीय बैठक हुने व्यवस्था हुने ट्रम्पले बताए। यसैगरी उनले मेरिका युक्रेनको सुरक्षा सुनिश्चित गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सुरक्षा ग्यारेन्टीबारे ट्रम्पले अहिलेसम्म दिएको सबैभन्दा स्पष्ट संकेत हो।
अघिल्लो आलोचनात्मक ह्वाइट हाउस भ्रमणभन्दा फरक, यस पटक जेलेन्स्कीले आकर्षक शैली अपनाए।
युराेपेली नेताहरूसँगको बैठकपछि ट्रम्पले गत शुक्रबार अलास्कामा भेट गरेका पुटिनलाई फोन गरेका थिए। ट्रम्पले पुटिनलाई रूस र युक्रेनका नेताबीचको सम्भावित बैठकबारे छलफल गरेका थिए। युरोपेली नेताहरूसँग सुरक्षा ग्यारेन्टीबारे छलफल गरेको र यसलाई अमेरिकी समन्वयमा अघि बढाउन सकिने ट्रम्पको भनाइ छ।
त्यतिबेला जेलिन्स्की र युरोपेली नेताहरू ह्वाइट हाउसमै थिए। फोन सकिएपछि युरोपेली नेताहरू फेरि ओभल अफिसमा ट्रम्पसँग छलफलमा सहभागी भएको थियो।
रूसी राष्ट्रपति पुटिनका परराष्ट्र नीति सल्लाहकार युरी उसाकोभले रसिया-२४ च्यानलमा भने, ‘पुटिन र ट्रम्पबीच ४० मिनेटको फोनवार्ता भएको र रुस-युक्रेनबीच प्रत्यक्ष वार्ताका लागि वरिष्ठ वार्ताकार तोक्ने सहमति भएको छ।’ उनले त्यसमा पुटिन स्वयं संलग्न हुने नहुनेबारे केही भनेनन्।
ट्रम्पले भने उनले जेलिन्स्की र पुटिनबीच बैठक गर्ने पहल गरिरहेको र त्यसपछि आफू पनि सामेल हुने त्रिपक्षीय बैठक आयोजना हुने बताएका छन्। जेलिन्स्कीले सोमबार राति पत्रकार सम्मेलनमा भने, ‘सुरक्षा ग्यारेन्टीबारेको छलफलमा युरोपमार्फत ९० अर्ब डलर बराबरका अमेरिकी हतियार खरिद गर्ने र अमेरिकाले युक्रेनसँग ड्रोन किन्नेजस्ता योजना पनि सामेल छन्। तर औपचारिक सम्झौता हुन बाँकी छ।’
सहमतिअनुसार युक्रेनले युरोपेली सहयोगमार्फत करिब ९० अर्ब डलर बराबरको अमेरिकी सैन्य उपकरण खरिद गर्नेछ। यसमा हवाई सुरक्षा र मिसाइल विरोधी प्रणालीसमेत पर्छन्।
जेलिन्स्कीले भने, ‘हामीले हतियारहरूको सूची प्रस्तुत गरेका छौँ, तर अन्तिम नतिजा के हुन्छ भन्ने अझै प्रस्ट छैन। सबै पाउँछौँ भन्ने छैन तर यो सुरुवात हो।’
कालो सुटमा (सामान्यतया प्रयोग गर्ने सैन्य पोसाकको साटो) आएका जेलिन्स्कीलाई दिउँसो १ बजे ह्वाइट हाउसको पश्चिमी प्रवेशद्वारमा ट्रम्पले आत्मीय स्वागत गरेका थिए। ओभल अफिसभित्र दुई राष्ट्रपतिबीचको सम्बन्ध पहिलेको तुलनामा सौहार्दपूर्ण देखिएको थियो। गत फेब्रुअरीमा भएको तनावपूर्ण भेटमा पर्याप्त सहयोग नगरेको भन्दै ट्रम्पले जेलिन्स्की कठोर आलोचना गरेका थिए। यसपटक जेलिन्स्कीले सार्वजनिक भाषणमा ट्रम्पलाई पटकपटक धन्यवाद ज्ञापन गरेका छन्।
सार्वजनिक प्रदर्शन पनि फेब्रुअरीको भ्रमणभन्दा निकै फरक देखियो। त्यति बेला ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले टेलिभिजनमै जेलिन्स्कीलाई कठोर आलोचना गरेका थिए। यसपटक भान्स मौन बसे। जेलिन्स्कीले आफ्नो सुटबारे गरिएका मजाकहरू सहर्ष स्वीकार गरे। अनि आफ्नी पत्नीले मेलानिया ट्रम्पलाई लेखेको पत्र ट्रम्पलाई बुझाए।
ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टी के हुनेछ भनेर स्पष्ट भनेनन्। तर उनले अमेरिकाले कुनै न कुनै रूपमा मद्दत गर्ने र अमेरिकी सेना संलग्न हुने सम्भावना अस्वीकार गरेनन्।
म्याक्रोँले भने, ‘युक्रेनसँग एकजुटता देखाउन र युरोपेलीहरूको हितको रक्षा गर्न हामी यहाँ आएका हौँ।’ उनले पुटिन वार्तामा गम्भीर हुनेबारे शंका व्यक्त गरे। उनले भने, ‘म विश्वस्त छैन कि राष्ट्रपति पुटिनलाई पनि शान्ति चाहिएको छ। उनको अन्तिम लक्ष्य सकेसम्म धेरै भूभाग कब्जा गर्नु र युक्रेनलाई कमजोर पार्नु हो। भविष्यमा रूसबाट पुनः हस्तक्षेप नहोस् भनेर हामीले युक्रेनलाई जमिनमै मद्दत गर्नुपर्ने हुन्छ।’
तर उनीहरूले ट्रम्पको युद्धविरामबिनै शान्ति सम्झौता गर्न सकिन्छ भन्ने भनाइबारे चिन्ता व्यक्त गरे। म्याक्रोँले भने, ‘राष्ट्रपति ट्रम्प शान्ति सम्झौता युद्धविरामबिनै गर्न सकिन्छ भन्नेमा विश्वस्त छन्। तर हामी सबैले उहाँलाई भन्यौँ कि बम वर्षा भइरहेका बेला हप्तौँ लाग्ने शान्ति सम्झौता चर्चा गर्न सकिँदैन।’
अमेरिकी राष्ट्रपति ट्रम्पले रूससँग शान्ति सम्झौता हुन सके युक्रेनका लागि अमेरिकी–सहयोगमा युरोपियन सुरक्षा सुनिश्चित गर्न अमेरिका तत्पर रहेको बताएका छन्। उनले भोलोदिमिर जेलेन्स्की र भ्लादिमिर पुटिनबीच संवाद गराउने बाचा पनि गरे।
वासिंटनमा कूटनीतिक वार्तापछि सोमबार साँझ सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकाले युरोपका सुरक्षा सुनिश्चतताको समन्वय गर्नेछ।’ उनले युक्रेनका लागिअमेरिकी सैन्य सहयोगको पूर्ण प्रतिबद्धता भने दिएका छैनन्। क्रेमलिनले पनि पुटिन र जेलेन्स्कीबीच बैठकको व्यवस्था गर्ने कुरा पुष्टि गरेको छैन।
एपी र बीबीसीको सहयोगमा