रुस चिढ्याउन बाइडनको ‘सरप्राइज’ युक्रेन भ्रमण

हिमाल प्रेस ८ फागुन २०७९ २१:३८
8
SHARES
रुस चिढ्याउन बाइडनको ‘सरप्राइज’ युक्रेन भ्रमण फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार युक्रेनको भ्रमण गरेका छन्। अचानक युक्रेन पुगेका बाइडनले त्यहाँका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई रुससँगको युद्धमा साथ दिइरहने बाचा गरे। जेलेन्स्कीलाई भेटेर युक्रेनको मनोबल बढाउनुबाहेक बाइडन भ्रमणको अर्को उद्देश्य हो, रुसलाई चिढ्याउने।

रुसले युक्रेनमाथि हमला सुरु गरेको एक वर्ष पुगेकै दिन बाइडन किएभ पुगेका हुन्। ‘एक वर्षअघि हमला सुरु गर्दा पुटिनले सोचेका थिए, युक्रेन कमजोर छ। पश्चिमा जगत विभाजित छ। उनले सोचेका थिए, युक्रेन र पश्चिमा जगतलाई सजिलै गलाउन सकिन्छ। तर उनी गलत थिए,’ बाइडनले किएभमा जेलेन्स्कीसँगको भेटपछि भने।

‘हो, युक्रेनले युद्धको ठूलो मूल्य चुकाउनु परेको छ। युक्रेनी नागरिकले बलिदानी गरेका छन्। हामी सबैलाई थाहा छ, अबका कयौँ साता, महिना र वर्ष कठिन हुनेछन्,’ बाइडनको भनाइ थियो।

अमेरिकी राष्ट्रपति बाइडनले मध्य किएभको एक गिर्जाघरको भ्रमण गरेका थिए। त्यस गिर्जाघरअघि एक रुसी ट्याङक राखिएको छ। युद्ध दौरान समातिएको यो ट्याङकलाई त्यहाँ राखिनुको उद्देश्य हो, युद्ध रुसले जितिसकेको छैन भन्ने सन्देश दिनु। रुसी फौज किएभको बाहिरी क्षेत्रसम्म पुगे पनि युक्रेनी राजधानीलाई कब्जामा लिन असमर्थ भएका छन्।

युद्धमा रुस र युक्रेनतर्फ निकै ठूलो क्षति भएको छ। संख्या यकिन नभए पनि दुईतिर गरेर हजारौँले ज्यान गुमाएको अनुमान छ। युक्रेनका कयौँ सहर भग्नावशेषमा रुपान्तरण भएका छन्।

लाखौँ युक्रेनी देश छाडेर युरोपका विभिन्न भाग र अमेरिका पुगेका छन्। युक्रेनको करिब २० प्रतिशत भूभाग कब्जा गरेको दाबी गरिरहेको रुसलाई पछाडि धेकल्न पश्चिमा जगतका देशहरुले खर्बौ अमेरिकी डलर खर्च गरिसकेका छन्।

अमेरिकी राष्ट्रपतिले किएभ भ्रम्रण दौरान युक्रेनलाई थप ५० करोड अमेरिकी डलर बराबरको सैन्य उपकरण उपलब्ध गराउने घोषणा गरेका छन्।

‘१५ वर्षपछि अमेरिकाबाट राष्ट्रपतिस्तरको भ्रमण भएको छ। यो भ्रमण युक्रेन–अमेरिका सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण घटना हो,’ जेलेन्स्कीले भनेका छन्।

युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबाले बाइडनको भ्रमणलाई युक्रेनी नागरिक र राष्ट्रपति जेलेन्स्कीको जित मानेका छन्। ‘बाइडनको युक्रेन भ्रमणको सन्देश हो, रुससँग कोही डराउँदैन,’ कुलेबाले भने।

रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्धबारे मंगलबार सम्बोधन गर्ने बताइएको छ। सम्बोधनमा उनले अमेरिका र नाटोलक्षित अभिव्यक्ति दिने अनुमान विश्लेषकहरुले गरेका छन्।

‘यो युद्ध खासमा रुसविरुद्ध पश्चिमा जगतमा रुपान्तरित भइसकेको छ। रुसको बुझाइ के छ भने, रुस युद्धमा पराजित हुँदैछ भन्ने ठानेर बाइडनले किएभको भ्रमण गरेका हुन्। यसकारण पुटिनको सम्बोधन आक्रामक हुनेमा शंका छैन। उनको यो सम्बोधनपछि स्थिति झन् कठिन हुनेछ,’ रुसी राजनीतिको विश्लेषण गर्ने टाटिआना स्टानोभ्या भन्छन्।

रुस–युक्रेन युद्ध एक वर्ष पुगेको दिनलाई पश्चिमा जगतले प्रतिकात्मक महत्त्व दिएको छ। यो जाडोभर रुसले युद्धमा आफ्ना फौज मात्र होइन, हजारौँ भाडाका लडाकु पनि प्रयोग गरेको छ।

तर युद्धबाट रुसले उति धेरै युक्रेनी भूभाग कब्जा गर्न सकेको छैन। युक्रेनको पूर्वी भागमा रुस बढी केन्द्रित छ। त्यहाँ कब्जामा लिइएको भूभागलाई पुटिनले युद्धको सफलता मान्न बाध्य छन्। जबकि रुसले युक्रेनमाथि गरेको हमलालाई दोस्रो विश्वयुद्धपछि कुनै पनि देशले अर्को देशमाथि गरेको शक्तिशाली हमला मानिएको थियो।

युक्रेनमाथि हमला गरेबापत रुसको विश्वका धेरैजसो देशले आलोचना गरेका छन्। तर केही देशले भने रुसको आलोचना गर्न मानेका छैनन्। रुसको नजिकको मित्र मानिने चीनले सार्वजनिक रुपमा युद्धलाई लिएर कसैको पक्ष लिएको छैन। तर रुस चीन आफ्नो पक्षमा रहेका ठान्छ। यहीबीच चीनका विदेशमन्त्री वाङ यी सोमबार वा मंगलबार मस्को पुग्दैछन्।

अमेरिकाले पछिल्ला केही दिनयता लगातार रुस र चीनको सम्बन्धललाई लिएर टिप्पणी गरिरहेको छ। चीनले गोप्य रुपमा रुसलाई सैन्य सामग्री उपलब्ध गराइरहेको अमेरिकी आशंका छ। अमेरिकाको यसप्रकारको टिप्पणी र आशंकाप्रति चीनको जवाफ छ, ‘चीन र रुस सार्वभौम देश हुन्। दुई देशबीचको सम्बन्धलाई लिएर अमेरिकाले आशंका गर्न आवश्यक छैन।’

युक्रेनको डोनबास क्षेत्रमा रहेका दुई प्रान्तमाथि पूर्ण नियन्त्रण कायम गर्न रुस प्रयासरत छ। उत्तरको क्रेमिनादेखि दक्षिणको भुलेदारसम्मका क्षेत्रमा रुस अहिले पनि दिनहुँ बम खसालिरहेको छ। त्यस क्षेत्रको ‘माइनिङ सिटी’ मानिजे बाखमुट वरपरको भूभाग रुसले कब्जामा लिएको छ।

रुसले आफ्नो कब्जा क्षेत्र नबढाओस् भनेर युक्रेन निरन्तर प्रत्याक्रमणमा छ। पश्चिमा जगतका देशले लगातार उपलब्ध गराइरहेको हतियार र उपकरणको बलमा युक्रेन रुसी हमला थेगिरहेको छ। युक्रेनको प्रत्याक्रमणका कारण रुसतर्फ निकै हतहती भइरहेको बताइँदैछ।

बेलायतका रक्षा मन्त्रालयले पनि रुसतर्फ निकै क्षति भइरहेको जिकिर गरेको छ। युद्ध सुरु भएको एक वर्ष पुगेकाले रुसी फौजमाथि थप सफलता पाउन राजनीतिक दबाब रहेको बेलायती रक्षा मन्त्रालयको ठम्मयाई छ।

प्रकाशित: ८ फागुन २०७९ २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =