
काठमाडौँ- साहित्यकार तथा समालोचक डा.रमेश शुभेच्छुले यस वर्षको नागार्जुन वाङ्मय जदौ पुरस्कार प्राप्त गरेका छन्। दाहाल यज्ञनिधिको ७२औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा उनलाई नगद १५,०१५ रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रम नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि प्राज्ञ डा. तुलसी भट्टराईले डा. शुभेच्छुलाई पुरस्कार अर्पण गरे।
प्रतिष्ठानका सचिव युवराज नास्तिकका अनुसार यो पुरस्कार यसै वर्षदेखि सुरु गरिएको हो। चयन समिति संयोजक मातृका पोखरेलले दाहालको व्यक्तित्व, कृतित्व र साहित्यिक योगदान उत्खनन गरी बाहिर ल्याउने डा. शुभेच्छुको प्रयासलाई मूल्यांकन गर्दै उनलाई पहिलो संस्करणको पुरस्कारका लागि छनोट गरिएको जानकारी दिए।
डा.भट्टराईले शुभेच्छुले मोतीराम भूमिका निर्वाह गर्दै दाहालजस्ता स्रष्टाको योगदानलाई उजागर गरेकामा प्रशंसा भने,‘प्रतिभा जब योग्य हुन्छ,पुरस्कारको गरिमा पनि बढ्छ।’
समारोहमा प्रा.प्रयागराज वाशिष्ठले दाहालका कवितामाथि र डा. विनोद मञ्जनले निबन्धमाथि समीक्षा प्रस्तुत गरे। डा. भट्टराईले दाहाललाई ‘परिवर्तन पक्षधर कवि’ को रूपमा व्याख्या गरे भने डा.मञ्जनले उनका केही निबन्ध कलात्मक हिसाबले कमजोर भए पनि वैचारिक दृष्टिले सशक्त रहेको टिप्पणी गरे।
कार्यक्रममा डा.हरिप्रसाद सिलवालले शुभेच्छुको साहित्यिक पत्रकारिता, पाठ्यपुस्तक लेखन, संगठन र समालोचनामा सक्रिय भूमिकाको चर्चा गर्दै भने,‘उहाँलाई यो पुरस्कार नदिएको भए अन्याय हुने थियो।’
उपस्थित स्रष्टाहरू अगिव वनेपाली, यशोदा अधिकारी, सुधा दाहाल, महेश प्रसाईं, रामप्रसाद पन्तलगायतले दाहालको जीवनी र योगदानको चर्चा गरे। पुरस्कृत साहित्यकार डा. शुभेच्छुले आफ्नो मन्तव्यमा दाहालसँगको सहकार्य, विद्यार्थी जीवनमा भएको भेटघाट, रेडियो कार्यक्रममा उनका विचार सुनेका क्षणहरू सम्झँदै भने,‘उहाँ केवल व्यक्ति होइन, समाज परिवर्तनको आवाज बन्नुभएको थियो।’
उनले ज.दा.उ. दर्शनका प्रणेता, साहित्यिक कार्यक्रम प्रस्तोता, शिक्षक, प्रशिक्षक र सञ्चारकर्मीको रूपमा दाहालको योगदानको पुनः स्मरण गरे। कार्यक्रममा देवु लुइँटेलले दाहालका कविता वाचन गरिन् भने कवि रत्ननिधि रेग्मी, असीम सागर, कृष्णप्रसाद जस्ताघरे, युवराज कुनाघरे, रामदेव पाण्डे, गौरी दाहाल, गंगा खतिवडालगायतले दाहालमाथि कविता सुनाए।
समीक्षकद्वय प्रा.प्रयागराज वाशिष्ठ र डा.विनोद मञ्जनलाई सम्मान गरियो भने उत्कृष्ट कविता वाचनकर्तालाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको थियो। दाहाल यज्ञनिधिको जन्म २०१० साल साउन ८ गते खोटाङको खाल्लेमा भएको हो।