
काठमाडौँ- इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा कांग्रेस नेता मोहम्मद आफताब आलमले अदालतबाट सफाइ पाएपछि घटनाको प्रत्यक्षदर्शी बताउने एक व्यक्तिले आफूमाथि अन्याय भएको दाबी गरेका छन्।
भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमारले आलमले सफाइ पाउँदा आफूहरूलाई अन्याय भएको गुनासो गरेका हुन्। चमारले आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा २०६४ चैत २७ गते आलमको इँटाभट्टामा काम गरेको पैसा लिन जाँदा आलमको घरमा बम पड्किएको बताए।
उनले उक्त घटनामा आफू गम्भीर घाइते भएको भन्दै आफ्नो घाउको खत देखाए। अदालतको फैसलाले आफूलाई अन्याय भएको उनले बताए। अफताब आलमले नै बम विस्फोट गराएको भन्न नसके पनि आलमकै घरमा बम बिस्फोट भएको उनको भनाइ छ।
इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले आलमलाई सफाइ दिएको छ। उच्च अदालतको फैसलामा बम पड्किएकै पुष्टि हुन नसकेको उल्लेख छ।